आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

कांग्रेसको १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारी

गोकर्णेश्वर खबर२५ श्रावण २०७७, आईतवार ०७:१४ मा प्रकाशित (३ साल अघि) २३५ पाठक संख्या

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनसम्म सम्पन्न गर्ने गरी तय गरेको पार्टीको १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ ।

कांग्रेसले कोरोना संक्रमणको कारण निर्धारित मितिमा महाधिवेशन हुने अवस्था नभएको र क्रियाशील सदस्यतासहित पार्टी संगठनको समायोजनको काम नसकिएको भन्दै मिति सार्ने तयारी गरिरहेको हो ।

कांग्रेस उच्च स्रोतका अनुसार महाधिवेशन सार्ने विषयमा शीर्ष नेताहरुबिच करिब करिब सहमति भएको छ । तर, महाधिवेशन सारेर जेठ कि भदौमा गर्ने भन्ने टुंगो लागेको छैन । ‘पछिल्लो पटक तल्ला तहका अधिवेशनका मिति हेरफेर गर्दा नै महाधिवेशनको मिति पनि हेरफेर गर्ने विषयमा केन्द्रीय समितिमा कुरा उठेको हो । त्यस बखत तल्ला तहका मात्रै हेरफेर भयो तर अहिले जेठ वा भदौमा गर्ने गरी शीर्ष तहमा छलफल हुँदै छ,’ कांग्रेसका एक पदाधिकारीले राजधानीसँग भने ।

शीर्ष तहमा भएको छलफलअनुसार पूर्वनिर्धारित मिति सारिए कांग्रेसको १४औं महाधिवेशन २०७८ सालको जेठ वा भदौमा हुनेछ । कांग्रेसको गत पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकले ७ देखि १० फागुन २०७७ सम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

महाधिवेशन सार्ने विषयमा शीर्ष नेताहरुबिच करिब करिब सहमति भएको छ । तर, महाधिवेशन सारेर जेठ कि भदौमा गर्ने भन्ने टुंगो लागेको छैन । कांग्रेस पदाधिकारीसहित पूर्वपदाधिकारीको गत बिहीबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको छलफलअनुसार क्रियाशील सदस्यतालाई समेत दोब्बर बनाउने निर्णय भइसकेको छ ।

जसअनुसार कांग्रेसको सदस्यता वितरण, नवीकरण र छानबिनको प्रक्रिया अझै लम्बिने निश्चित छ । जारी कार्यतालिकाअनुसार सदस्यता वितरण साउन मसान्तसम्म मात्र तोकिएको छ । यस्तै, कांग्रेसले सदस्यता छानबिन गर्न अझै समिति बनाइसकेको छैन ।

यस्तै, संविधानले व्यवस्था गरेअनुसारको नयाँ संरचनामा पार्टी संगठनलाई लैजान जारी रहेको समायोजनको कामसमेत कांग्रेसले सकेको छैन । पछिल्लो पटक संगठन समायोजनको काम १५ साउनसम्मा सक्ने भनिएको थियो । त्यसअघि १५ असारभित्र नै अन्तरिम संरचना समायोजनको सबै काम सक्ने भनिएको थियो ।

कांग्रेसले १६ असारको केन्द्रीय समिति बैठकबाट १४औं महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी तल्ला तहका अधिवेशनको मितिसमेत परिमार्जन गरेको थियो ।

कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणको काम साउन मसान्तभित्र सकेर भदौभित्र अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा पठाइसक्न सबै जिल्लालाई निर्देशन गरेको थियो । यसरी आएका क्रियाशील सदस्यका नाममा असोज मसान्तभित्र उजुरी गर्न र कात्तिक मसान्तभित्र क्रियाशील सदस्यतामाथि पुनरावेदन दिन भनिएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।