आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

राखेपको रिक्त सदस्यसचिवका लागि २७ जनाको आवेदन

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार ०७:३६ मा प्रकाशित (३ साल अघि) ४९५ पाठक संख्या

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को रिक्त सदस्यसचिवका लागि २७ जनाको आवेदन परेको छ । राखेपको कार्यकारी पदका लागि निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित २७ जनाको आवेदन परेको हो ।

गत असार १७ गतेदेखि नयाँ खेलकुद ऐन लागु भएसँगै राखेप नेतृत्वविहीन बनेपछि नयाँ ऐनअनुसार सदस्यसचिव नियुक्तिका लागि युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिमा राष्ट्रिय खेलकुद परिषद्का पूर्वबोर्ड सदस्य इन्दिरा निरौला र परिषद्कै पूर्वकर्मचारी रिम रानाभाट सदस्य छन् ।

गत शुक्रबार गठन भएको समितिले सदस्यसचिव नियुक्ति सम्बन्धी कार्यविधि बनाउँदै आवेदन पेस गर्न एक साताको समयसीमा तोकेको थियो । सो समयसीमा बिहीबार सकिएको छ । छनोट समितिले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नेछ ।

सदस्यसचिवका लागि रोशन महर्जन, अनिल अधिकारी, हर्कबहादुर राई, मीना श्रेष्ठ, शिवराज भट्ट, लिलबहादुर थापामगर, रवि राजकर्णिकार, अच्युतम् लामिछाने, निलमसिंह वज्राचार्य, रमेशकुमार सिलवाल, मेघराज पौडेल र रामेश्वर श्रेष्ठले आवेदन दिएका छन् ।

यसैगरी अच्युत खनाल, मनबहादुर गुरुङ, विजयकुमार राई, सानुराजा केसी, किशोर शाही, अञ्जु श्रेष्ठ, सुदील शाही, रमेशमान डंगोल, ध्रुवराज न्यौपाने, खेमराज अधिकारी, राम पुडासैनी, सुनील नकर्मी, रणबहादुर चन्द, दीपेन्द्र ढकाल र तेजबहादुर गुरुङ छन् । (अन्नपूर्ण पोस्ट)