आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

१० अर्बको विकास ऋणपत्र निकाल्दै राष्ट्र बैंक

गोकर्णेश्वर खबर२० असार २०८०, बुधबार १७:२५ मा प्रकाशित (१0 महिना अघि) १५७ पाठक संख्या

काठमाडौं । मुलुकमा १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी हुने भएको छ । नेपाल राष्ट्र बैंकले असार २१ गते १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्न लागेको हो ।

सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ । सरकारको तर्फबाट राष्ट्र बैंकले बोलकबोल मार्फत् विकास ऋणपत्र २०८६ ‘च’ निष्काशन गर्न लागेको हो । ६ वर्षे अवधिको यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकलेसमेत खरिद गर्न सक्नेछन् ।

यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइनेछ । ऋणपत्र निष्काशित रकमको ८५ प्रतिशत प्रतिस्पर्धी र १५ प्रतिशत अप्रतिस्पर्धी रुपमा बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

ब्याजदर निर्धारण गर्दा बोलबालाले कबोल गरेको ब्याजदरलाई सानादेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको कटअफ् ब्याजदरलाई एकल ब्याजदर कायम गरिनेछ । यसरी कायम भएको एकल ब्याजदरमा ऋण उपलब्ध गराइने जनाइएको छ । ऋणपत्रका लागि घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कका लागि आवेदन दिन पाइनेछ ।