आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

सगरमाथा आरोही चर्चित गायक राजु लामा भेनस नेसनल कलेजबाट सम्मानित

गोकर्णेश्वर खबर१ भाद्र २०७९, बुधबार १०:०५ मा प्रकाशित (१ साल अघि) ३०८ पाठक संख्या

१ भदौ, काठमाडौं । सगरमाथाको सफल आरोहण गरेर फर्किएका गायक राजु लामालाई भेनस नेसनल कलेजले सम्मान गरेको छ । मंगलबार कलेजले मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गरी भेनस सहासिक कलाकार २०७९ बाट मंगोलियन हर्टका चर्चित गायक एवम् सफल आरोही राजु लामालाइ सम्मान गरेको हो ।

गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यता तथा भेनस नेसनल कलेजका अध्यक्ष पेमा छिरी शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा चर्चित गायक एवम् सफल सगरमाथा आरोही राजु लामालाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी तथा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालले लामालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा भेनस नेसनल कलेजका क्याम्पस प्रमुख कृष्ण गौतम, भेनस स्कुलका प्रिन्सिपल नेत्र प्रसाद दाहाल, एन प्याब्सन गोकर्णेश्वर नगर अध्यक्ष तथा कलेजका डायरेक्टर मोहन अधिकारी, भेनस नेसनल कलेजकै छात्रा सगरमाथा आरोही कान्छि माया शेर्पा लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

गायक राजु लामाले सगरमाथाको सफल आरोहण गर्नुका साथै सात हजार ९०० मिटरको उचाइमा एकल साङ्गीतिक कार्यक्रम सम्पन्न गर्दै विश्व किर्तिमान समेत राखेका थिए। कार्यक्रममलाई सम्बोधन गर्दै गायक राजु लामाले ग्लोबल वार्मिंग विरुद्ध जनचेतना बढाउन सगरमाथा आरोहण तथा विश्वकै अग्लो स्थानमा कन्सर्ट गरिएको जानकारी दिए ।

लामाले जलवायु परिवर्तन विरुद्ध समयमै काम नगरे मानव सभ्यता र जीवन नै जोखिममा पर्ने र आगामी पूस्ताले प्राकृतिक, साँस्कृतिक सम्पदाहरु देख्न नपाउने जोखिम रहेको भन्दै ग्लोबल वार्मिंग र जलवायु परिवर्तन विरुद्ध आफूले सकेको योगदान दिन विद्यार्थीहरुलाई आग्रह गरे । उनले राजु लामा फाउण्डेसन तथा अन्य अभियानबाट भईरहेका वृक्षारोपण लगायतका वातावरण संरक्षण गर्ने कार्यमा जोडिएर सहयोग गर्न तथा विश्वव्यापि रुपमा भईरहेको जलवायु परिवर्तन विरुद्धको कार्यको प्रचार गर्न आग्रह गरे ।

कार्यक्रममा कलेजका अध्यक्ष पेमा छिरि शेर्पाले भेनस कलेजले विद्यार्थीको व्यक्तित्व विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएकोले त्यसबाट प्रेरणा लिन आग्रह गरेका थिए भनें कलेज प्रमुख कृष्ण गौतमले उपस्थित सबैलाई स्वागत गर्दै भेनस नेसनल कलेजले समाजमा उत्कृष्ट कार्य गर्नेहरुलाई सम्मान गर्दै आएकोमा जोड दिंदै सम्मान कार्यक्रमबाट विद्यार्थीहरुलाई सकारात्मक प्रेरणा मिलोस् भन्ने कामना गरे । कार्यक्रम कलेजका प्रशासन प्रमुख बिनितराज अर्यालले संचालन गरेका थिए ।