आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

आगामी चुनावी रणनीति र कार्ययोजनाबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

गोकर्णेश्वर खबर२६ श्रावण २०७९, बिहीबार १३:३९ मा प्रकाशित (१ साल अघि) १२२ पाठक संख्या

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ ।

पार्टी कार्यालय च्यासलमा दिउँसो १२ बजे बस्ने बैठकमा आगामी चुनावमा अपनाउने रणनीति र कार्ययोजनाबारे छलफल हुने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभएको छ ।

सचिवालय बैठकपछि स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको तयारी छ । केन्द्रीय कमिटीमार्फत उम्मेदवार छनोट, घोषणापत्र मस्यौदा लगायत निर्वाचनसँग सम्बन्धित निर्णय गर्नेछ ।

एमालेले यसअघि निर्वाचन लक्षित सातै प्रदेशमा कार्याकर्तालाई प्रशिक्षण दिएको थियो । उक्त प्रशिक्षणको समेत समीक्षा गरिने एमाले नेताहरुले बताएका छन् । प्रशिक्षणका लागि एमालेले सातै प्रदेशमा उपाध्यक्षहरूलाई खटाएको थियो ।

जसमा प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा सुरेन्द्र पाण्डे, बागमती प्रदेशमा विष्णु पौडेल, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवास नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशमा युवराज ज्ञवालीलाई खटाएर प्रशिक्षण चलाएको थियो ।