आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

प्रचण्डसँग जंगिए सिटौला : धोकाधडीको राजनीति सुरु गर्नुभयो,यहीं टुंगिने नठान्नुहोला,यसपटक देखाइदिन्छौं

गोकर्णेश्वर खबर२७ फाल्गुन २०८०, आईतवार १७:३६ मा प्रकाशित (१ महिना अघि) ६० पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफूलाई धोका दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष रोष प्रकट गरेका छन् ।

प्रधानमन्त्रीले धोकाधडीको राजनीति सुरु गरेको भन्दै उनले यो यहीं नटुंगिने चेतावनी समेत दिएका छन् ।

कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई लिएर आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

पार्टीको कार्यकारी पदमा समेत नबसेर शान्त तरिकाले बसिरहेको व्यक्तिलाई राष्ट्रिय सभामा ल्याएर गम्भीर धोका दिएको सिटौलाको गुनासो छ । ‘राष्ट्रिय सभाको अध्यक्ष बन्नुपर्दछ भनी सबभन्दा पहिले तपाईंले भन्नुभएको हो’, सिटौलाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘तपाईंले राष्ट्रिय सभा अध्यक्ष हुँदैन भनेको भए म राष्ट्रिय सभाको सदस्य मात्रै हुने गरी उठ्ने थिइनँ ।’

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा दुबै सहमत भएपछि राष्ट्रिय सभा अध्यक्ष बन्ने तयारीका साथ सिटौलालाई राष्ट्रियसभामा आएका थिए । ११ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा कोशीबाट सिटौला तत्कालिन कांग्रेस–माओवादी गठबन्धनको बलमा निर्वाचित भएका थिए ।

प्रधानमन्त्री प्रचण्डले २१ फागुनमा गठबन्धन फेरेसँगै सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्ने बाटो बन्द भएको छ । उनले प्रचण्डलाई भनेका छन्, ‘पार्टीलाई धोका त भयो भयो, तपाईंका कारण मलाई पनि धोका भयो ।’

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) का नाममा ओलीलाई बोलाउँदै नयाँ सत्ता समीकरण बनाउने काम गरेको उनको गुनासो छ ।

आफूहरुलाई कांग्रेस गठबन्धनलाई निरन्तरता दिने भन्ने, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि वार्ता गर्ने गरेको भन्दै सिटौलाले भने, ‘त्यो बेला केही पनि छैन भनिरहनुभयो । अहिले आएर ४÷५ महिनादेखि केपी ओलीसँग कुरा गरिरहेको थिएँ भन्नुहुन्छ । यसरी ढाँट्ने ?

चुपचाप सिटौलाको आक्रोश सुनेका प्रधानमन्त्री प्रचण्डले गठबन्धन टुट्नुमा पुरानै कारण दिए । उनले अघिल्लो गठबन्धनको सरकारबाट नागरिकले परिणामको अपेक्षा गरेपनि त्यस अनुसार हुन नसकेको बताएका छलफलमा सहभागी एक नेताले बताए ।

प्रधानमन्त्री प्रचण्डले लामो भूमिका बाँधेर गठबन्धन कायम राख्न नसक्नुमा यो भयो, त्यो भयो भन्दै कांग्रेसले पारेका अप्ठ्यारो सुनाएका थिए ।सिटौलाले भने २०६४ सालमा गिरिजालाई राष्ट्रपति नबनाएको समयमा जस्तै यसपटक पनि प्रचण्डले पछुताउनुपर्ने चुनौती दिएको एक नेता बताउँछन् ।

‘पहिले पनि विश्वास गर्दा तपाईंले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन मान्नुभएन । यसले तपाईंलाई नै पछुतो भएको छ,’ सिटौलाले चेतावनी दिँदै भने, ‘यति धोका दिएपछि सबै कुरा अब सहजै जान्छ भनेर नसोच्नुहोला । गिरिजाबाबुलाई राष्ट्रपति नबनाएकोमा जस्तै तपाईंले यसपटक पनि पछुताउनुपर्नेछ । हामी यसपटक तपाईंलाई देखाइदिन्छौं ।’ ‘तपाईंले जुन धोकाधडीको राजनीति गर्नुभयो । यो यहीं टुंगिन्छ भनेर नठान्नुहोला’ भन्दै बाहिरिएका छन् ।