आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मङ्सिरमै गर्न सभापति बानियाँको माग

गोकर्णेश्वर खबर१६ श्रावण २०७९, सोमबार १९:४३ मा प्रकाशित (१ साल अघि) ३२५ पाठक संख्या

काठमाडौं, साउन १६ गते । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन रोक्न चलखेल सुरु भएको आरोप लगाउनु भएको छ ।

सोमबार हेटौँडामा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै सभापति बानियाँले सङ्घीय व्यवस्था कमजोर बनाउने तत्व निर्वाचन प्रभावित बनाउन लागिपरेको बताउनुभयो ।

देशमा सङ्घीय व्यवस्था स्थायित्व हुने देखेपछि शासन व्यवस्थालाई कमजोर बनाउने देश भित्र र बाहिरका तत्व निर्वाचन समयमा हुन नदिन लागि परेको दाबी उहाँको छ ।

शासन व्यवस्था असफल बनाउन लाग्नेहरुलाई सफल हुन नदिन पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचन समयमा नै हुनुपर्ने उहाँको भनाइ छ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचन आगामी मङ्सिर पहिलो साता हुनुपर्ने भन्नुहुँदै उहाँले सरकारले यसबारेमा छिट्टै निर्णय गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई समयमा निर्वाचन गरेर देशलाई स्थायित्व प्रदान गर्ने अवसर भएको भन्दै यो अवसरबाट नचुक्न आग्रह गर्नुभयो ।