आज: २८ बैशाख २०८१, शुक्रबार | Fri, 10, May, 2024

ब्ल्याकमेलिङ गरी एक सहकारीबाट १५ लाख लिएको आरोपमा पत्रकार एन्जिना कार्की पक्राउ

गोकर्णेश्वर खबर२७ मंसिर २०७८, सोमबार २०:०१ मा प्रकाशित (२ साल अघि) ७६० पाठक संख्या

काठमाडौं । न्युरोडमा रहेको एक सहकारीबाट १५ लाख रुपैयाँ असुलेको आरोपमा एक महिला पत्रकार पक्राउ परेकी छन्।

सोलुखुम्बु घर भई काठमाडौं बस्दै आएकी पत्रकार एन्जिना कार्कीलाई पक्राउ गरिएको महानगरी प्रहरी वृत जनसेवाका डिएसपी डिलबहादुर मल्लले जानकारी दिए।

कार्कीलाई चार दिनअघि पक्राउ गरिएको उनले बताए। उनी भारतीय टिभी च्यानल जी न्युजकी पूर्वकर्मचारीसमेत हुन्।

उनले ६ दिनअघि सो टेलिभिजनबाट बिदा लिएकी थिइन्।

स्रोतका अनुसार पत्रकारको नाममा पैसा उठाएको सूचना पाएपछि जी न्युजले उनलाई बर्खास्त गरेको हो।

‘पहिला पत्रकार भनेर राम्रोसँग परिचय गर्ने रहेछिन्’, डिएसपी मल्लले भने, ‘पछि हिमचिम बढेपछि कमजोरी पत्ता लगाई तपाईंका समाचार निकालिदिन्छु भन्दै ब्ल्याकमेलिङ गर्ने रहेछिन्।’

उनले अहिलेसम्म पटक,पटक गरेर १५ लाख रुपैयाँ न्युरोडस्थित एक सहकारीबाट लिएको खुल्न आएको डिएसपी मल्लले बताए।

उनीमाथि ठगी मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

भिभिआइपी, भिआइपी, चर्चित कलाकार र पत्रकारसँग आफ्नो राम्रो चिनजान भएको र रकम नदिए सबैतिर समाचार प्रकाशित गरिदिने धम्की उनले दिने गरेको प्रहरीले बताएको छ।

उनी एक्लैले सो काम गर्न नसक्ने प्रहरीको निष्कर्ष छ। उनीसँग नजिक रहेका, उनको कल डिटेल हेरेर अनुसन्धान अघि बढाइएको जनसेवा वृत्तले जनाएको छ।