आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

आज प्रचण्ड-नेपाल समूहकाे नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

गोकर्णेश्वर खबर९ माघ २०७७, शुक्रबार ०७:१० मा प्रकाशित (३ साल अघि) ४६६ पाठक संख्या

नेकपाको प्रचण्ड–नेपाल समूहले शुक्रबार काठमाडौंमा नौ स्थानबाट बृहत् जुलुस निकाल्ने तयारी गरेको छ । संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनरत प्रचण्ड–नेपाल समूहले दोस्रोपटक काठमाडौंकेन्द्रित बृहत् जुलुस र विरोध–सभा आयोजना गर्न लागेको हो ।

जसअनुसार काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, वाल्मीकि कलेज र ललितपुरको कुपण्डोलबाट बिहान ११ बजेबाट ¥याली निकाल्ने तयारी भएको जानकारी दिँदै उसले समयभित्रै सहभागी हुन पार्टीपंक्तिलाई निर्देशित गरेको छ । स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा ती स्थानहरूबाट सुुरु हुने जुलुस रत्नपार्कमा जम्मा भएपछि मूल जुलुस अघि बढ्ने र भद्रकाली, सहिदगेट, आरएनएसी, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध–सभामा परिणत हुने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

जुलुसलाई व्यवस्थित गर्न प्रचण्ड–नेपाल समूहले युवा संघ र अनेरास्ववियु सहभागी दुई हजारको संख्यामा स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ । मूल जुलुसपछिको विरोध–सभालाई अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । यसअघि प्रचण्ड–नेपाल समूहले १४ पुसमा त्यही स्थानमा बृहत् विरोध–सभा आयोजना गरेको थियो । विरोध प्रदर्शनको तयारीको सिलसिलामा प्रचण्ड–नेपाल समूहका युवा विद्यार्थीले बुधबार प्रचारात्मक मोटरसाइकल ¥याली तथा बिहीबार साँझ मसाल जुलुस प्रदर्शन गरेका थिए ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरेको छ । ‘यो आन्दोलन, यो विरोध प्रदर्शन, नेकपाको मात्रै नभएर संघीय लोकतान्त्रिक शासन व्यवस्था, संविधान र अग्रगमनका पक्षधरहरूको साझा आन्दोलन हो । संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र अग्रगमनका पक्षमा रहनुभएका सम्पूर्ण जनसमुदाय, नागरिक समाज, राजनीतिक दल, कार्यकर्ता, शुभेच्छुक र समर्थक सबैलाई भोलिको विरोध प्रदर्शनमा सहभागी बन्नका लागि हार्दिक आह्वान गर्दछौँ,’ संघर्ष समितिका संयोजक श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा छ ।

त्यस्तै, श्रेष्ठले प्रदर्शन शान्तिपूर्ण हुने भन्दै भ्रममा नपर्न पार्टीपंक्ति र जनसमुदायको ध्यानाकर्षण पनि गराएका छन् । ‘संविधानले निर्दिष्ट गरेको सीमाभित्र रहेर प्रदर्शन पूर्णतया शान्तिपूर्ण हुनेछ । आन्दोलनका विषयमा फैलाइएका कुनै पनि भ्रममा नपर्न हामी अपिलसमेत गर्दछौँ । तर, प्रदर्शनमा घुसपैठ गरी शान्तिपूर्ण आन्दोलनलाई बिथोलेर अराजकता र द्वन्द्वतिर लैजाने सरकारी तथा प्रतिगामी समूहको प्रयासप्रति भने हामी सचेत छौँ । सबै जनसमुदायलाई शान्तिपूर्ण, मर्यादित, तर जुझारु रूपमा प्रदर्शनमा सहभागी भइदिनुहुन हार्दिक आग्रहसमेत गर्दछौँ,’ जारी विज्ञप्तिमा छ ।