आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुल्ने

गोकर्णेश्वर खबर१० आश्विन २०७७, शनिबार ०७:५१ मा प्रकाशित (३ साल अघि) २१९ पाठक संख्या

काठमाडौं । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् ।

हाल अधिकांश मानिसले काठमाडौं उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । कलेज तथा विद्यालय पनि खुला नभएकाले निकै कम विद्यार्थी मात्र काठमाडौंमा रहेकाले ढिलो गरी खुलाए पनि हुने महासङ्घले जनाएको छ ।

विगतका वर्षमा जस्तो यसपालिको दशैँमा यात्रुको त्यति चाप नहुने महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरको भनाइ छ तर विगतमा जस्तो नभए पनि यात्रुको चाप सामान्य दिनभन्दा बढी नै हुने उहाँको दाबी छ । दशैँका अवसरमा पूर्ण सिट क्षमतामा बस सञ्चालन गर्नुपर्ने व्यवसायीको माग छ । आधा क्षमतामा, यात्रुको चाप बढेर भीड अनियन्त्रित हुनसक्ने र माग पनि नधान्ने वरिष्ठ उपाध्यक्ष स्वाँरले जानकारी दिए । उनले भने, ‘चाडबाड मुखमा आएको छ । असोज १५ देखि पूर्ण सिट क्षमतामा चाउनुको विकल्प छैन । त्यसो नगरिए यात्रुले टिकट पाउने सम्भावना निकै कम हुन्छ । आधा सिट मान्छे हालेपछि आधा मान्छे त काठमाडौँमा रहन्छन्, गाडीको सङ्ख्या त थपिएको छैन ।’

आन्तरिक हवाई उडानलाई पूर्ण सिट क्षमतामा सञ्चालन हुन दिएपछि बसलाई मात्र रोक्नुको कुनै अर्थ नहुने महासङ्घले जनाएको छ । सुरक्षा सावधानी अपनाएर बस पूर्ण सिट क्षमतामा सञ्चालन गर्नुको विकल्प नभएको महासङ्घका महासचिव सरोज सिटौला भन्छन्, ‘दशैँमा काठमाडौंबाट जाँदा यात्रुको चाप भए पनि फर्कदा गाडी खाली आउनुपर्छ । ” चाडबाडमा सार्वजनिक सवारीसाधनको व्यवस्थापनका लागि यातायात व्यवस्था विभागले असोज ११ व्यवसायीसँग बैठकको आयोजना गरेको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।