आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ४४ लाख पुग्यो

गोकर्णेश्वर खबर४ श्रावण २०७७, आईतवार ०७:२३ मा प्रकाशित (३ साल अघि) २५७ पाठक संख्या

काठमाडौं। विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड ४४ लाख १४ हजार ५५ पुगेको छ। हालसम्म संक्रमितमध्ये ६ लाख चार हजार १५० जनाले ज्यान गुमाइसकेका छन्।

विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ८६ लाख ६ हजार ५४५ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी ५२ लाख तीन हजार ३६० जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्। उपचाररतमध्ये ५९ हजार ९१० जना संक्रमितको अवस्था चिन्ताजनक छ।

नेपालमा हालसम्म १७ हजार ५०२ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। नेपालमा रहेका संक्रमितमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ६३७ जना उपचारपछि संक्रमणमुक्त भएका छन्। नेपालमा पहिलोपटक गत वर्षको माघ ९ गते एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

विश्वमा कोरोना भाइरसको संक्रमित पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो भाइरस फैलिएर अहिले विश्वका दुई सय १५ देश तथा क्षेत्रमा पुगेको छ।

वल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म ३८ लाख ३२ हजार ९९८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म एक लाख ४२ हजार ८६९ जनाको मृत्यु भएको छ।