आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या २३९ पुग्यो : कुन-कुन ठाउँमा फेला परे ?

गोकर्णेश्वर खबर२३ असार २०७७, मंगलवार १५:४५ मा प्रकाशित (३ साल अघि) ३०३ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । लकडाउन खुला भएसँगै उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । अहिलेसम्म उपत्यकाका विभिन्न ठाउँका २ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । यो सोमबारसम्मका संक्रमितको संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा १ सय ६१, ललितपुरमा ३९ र भक्तपुरमा पनि ३९ जना संक्रमित फेला परेका छन् । अहिलेसम्म उपत्यकाका तीन जिल्लामा २ सय ३९ जना संक्रमित फेला परेका छन् । संक्रमितमध्ये काठमाडौं र ललितपुरमा एकएकजनाको मृत्यु भएको छ ।

अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३२ जना, पाटन अस्पतालमा ४६ जना, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा ५७ जना, दुवाकोटको केएमसी अस्पतालमा १८ जना संक्रमित रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौं उच्च जोखिममा पर्दै गएको जानकारी दिएका छन् । उनका अनुसार काठमाडौंको तीनकुने, कपन, खुसिबु, कागेश्वरी, मैतीदेवी, टोखा, कोटेश्वर र शंखमूल, ललितपुरको नख्खु र प्यूटार तथा भक्तपुरको भोलाछें र बोडेबाट नमुना संकलन गर्ने कार्य सुरु गरिएको छ ।

काठमाडौं उपत्यकाका महाराजगञ्ज, तिनकुने, चाबहिल, कपन, खुसीबु, कागेश्वरी, कोटेश्वर, सिनामंगल,टोखा,थसिखेल, चापागाउँ, लुभु, सिद्धिपुर, हात्तीवन, सातदोबाटो, नलिपोट, भैँसेपाटी, प्यूटार, टीकाथली, बुङ्मती,सुनाकोठी, थैब, गोदावरी, हात्तीवन, चापागाउँ, हरिसिद्धिल, महालक्ष्मीस्थान, बोडे, भोलाछें, चाँगुनारायण र कमलविनायक च्यामासिङ लगायतका ठाउँमा संक्रमित फेला परेका पाण्डेले जानकारी दिए ।