आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

यातायातमा ७० करोड भ्रष्टाचार गर्ने तत्कालीन प्रमुखसहित ५ जनालाई पक्राउ गरी जेल चलान

गोकर्णेश्वर खबर१९ मंसिर २०८०, मंगलवार १७:२१ मा प्रकाशित (५ महिना अघि) ३१४३३ पाठक संख्या

काठमाडौँ । राजस्व रकम हिनामिनासम्बन्धी मुद्दामा दोषी ठहर भएर कैद सजाय तोकिएका यातायात कार्यालयका पाँचजना पूर्वकर्मचारी पक्राउ परेका छन्।

यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालीन प्रमुख नयराज नेपाल र लेखापाल मणिराज दाहालसहित पाँचजनालाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सोमबार पक्राउ गरेको हो।

नेपाल र दाहालसहित कर्मचारीहरू कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

पक्राउ परेका उनीहरूलाई अदालतमा उपस्थित गराएर कैद सजाय भुक्तानका लागि जिल्ला ‍कारागार कार्यालय मोरङमा चलान गरिएको उनले बताए।

उनीहरूलाई विशेष अदालतले २०७९ चैत ८ गते भ्रष्टाचार (राजश्व रकम हिनामिना) कसूरमा दोषी ठहर गर्दै जरिवाना र सजाय तोकेको थियो।

उक्त मुद्दामा तत्कालीन कार्यालय प्रमुख नेपाललाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ जरिवाना तोकेको थियो।

लेखापाल दाहालललाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ जरिवानाको फैसला विशेषले सुनाएको थियो।

कटुवालललाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ जरिवाना, अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवाना सुनाइएको थियो।

उता देवराज नेपाललाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवानाको फैसला भएको थियो।

उनीहरुबाट जम्मा ३९ वर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख २२ हजार ३०८ रुपैयाँ असुल गर्न बाँकी थियो।