आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

एमाले अध्यक्ष ओलीलाई राउटेले दिए कोसी उपहार

गोकर्णेश्वर खबर१८ मंसिर २०८०, सोमबार १८:३५ मा प्रकाशित (५ महिना अघि) १७२ पाठक संख्या

दैलेख । मध्यपहाडी लोकमार्गको अभियानका क्रममा दैलेखको गुराँसेमा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीको भेट जंगली फिरन्ते आदिवासी समूदाय राउटेका मुखियासँग भयो । जंगलमा बस्ने राउटेले पूर्वप्रधानमन्त्री ओलीसँग भेटेर आफ्ना समस्या सुनाएका छन् ।

राउटेका नवनियुक्त मखिया सूर्यप्रकाश शाहीले आफ्नो समुदायको पुख्र्यौली पेसा नै संकटमा परेका कारण बाँच्न पनि समस्या भएको ओलीलाई भने । ओलीले आफूहरूलाई सहयोग गर्नु होला भन्ने लागेर भेट्न आएको उनले बताए । राउटे मुखिया शाहीले भने, ‘हामी केपी ओली ज्यूलाई भेट्न आको । हामीलाई जंगल बस्न समस्या छ । ओली ज्यू काठमाण्डु गया, मुगु, रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै सहयोग गर्‍या । अब पनि केही सहयोग गरन्ना भनेर भेट्न आयाका हौं ।’

राउटे मुखियाले ओलीलाई काठबाट बनाएको कोसी उपहार दिएका थिए । एमाले राउटे समुदायको अस्थित्व बचाउँदै जीविकोपार्जनमा सहज गर्न, शिक्षा, स्वास्थ्यमा सहज पहुँच पुर्‍याउन नीतिगत र कार्यक्रमका हिसाबले पनि सहयोग गर्न तयार रहेको अध्यक्ष ओलीले बताए ।