आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

जापानलाई पराजित गर्दै नेपाल एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा प्रवेश

गोकर्णेश्वर खबर४ कार्तिक २०८०, शनिबार १५:५८ मा प्रकाशित (६ महिना अघि) २४२ पाठक संख्या

काठमाडौं । यू–१९ नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मलेसियामा शनिबार भएको सेमिफाइनलमा नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा १४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपाल फाइनलमा पुगेसँगै पाकिस्तानमा हुने यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि पनि छनोट भएको छ ।

नेपाल २५ ओभरमा २ विकेट गुमाएर १४० रनको स्थितिमा रहँदा खेल वर्षाले प्रभावित भएको थियो । लामो समयसम्म वर्षाले खेल प्रभावित भएपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर २२ ओभरमा झारिएको थियो । जसमा जापानले २२ ओभरमा जितका लागि १८७ रनको लक्ष्य पाएको थियो । जवाफमा जापान ११.५ ओभरमा सबै विकेट गुमाउँदै ४३ रनमा समेटियो ।

जापानका शोतारो हिरात्सुकाले १५ र किफ्मर यामामोटोले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि हेमन्त धामी र दीपेश कँडेलले समान ३–३ विकेट लिए भने सुभाष भण्डारीले २ तथा आकाश चन्दले १ विकेट हात पारे । त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो ।