आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

टी-२० त्रिकोणात्मक क्रिकेट : हङकङलाई हराउँदै नेपालको लगातार दोस्रो जित

गोकर्णेश्वर खबर२ कार्तिक २०८०, बिहीबार १४:०६ मा प्रकाशित (६ महिना अघि) १६० पाठक संख्या

काठमाडौं । नेपाल, हङकङ र युएईबीचको टी २० सिरिजमा नेपालले दोस्रो जित हात पारेको छ। बिहीबार मुलपानी मैदानमा भएको खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित हात निकाल्यो।

हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर पार गर्‍यो।

नेपालका ओपनर कुशल भुर्तेल ८ रनमा आउट हुँदा उनका ओपनिङ पार्टनर आसिफ शेखले ४२ रन जोडे। आसिफले ३४ बलमा ६ चौका प्रहार गरे।

कुशल मल्ल १ रन र सन्दीप जोरा ३ रनमै आउट भए। दुवैलाई हङकङका इशान खानले बोल्ड गरे। खानले कुशल भुर्तेललाई पनि बोल्ड गरेका थिए।

कप्तान रोहितकुमार पौडेलले नटआउट २५ रन र गुल्सन झाले नटआउट १४ रन बनाए। रोहितले २० बलमा १ चौका र २ छक्का तथा गुल्सनले ५ बलमा २ छक्का हिर्काए।

बलिङमा हङकङका इशान खानले ३ विकेट लिएन सफल भए।

त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ३ बल खेल्न बाँकी छदा ९४ रनमै अलआउट भयो।

हङकङका लागि यासिम मुर्ताजाले सबैभन्दा बढी ३६ रन जोडे। उनले ३६ बलमा २ चौका र १ छक्का हिर्काए। जीशन अलीले १७ रन जोड्दा हङकङका अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

हङकङका सुरूवाती पाँचसहित कुल ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका करण केसीले पहिलो बलमै हङकङका कप्तान निजाकत खान बोल्ड भएका थिए।

करणले हङकङका सुरूवाती तीन ब्याट्सम्यानलाई आउट गरेका थिए। हङकङले पावरप्लेमा २० रन जोड्दा ४ विकेट गुमाएको थियो।

बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। उनले ४ ओभरमा १५ रन खर्चिए। यस्तै सोमपाल कामी र अभिनास बोहराले २/२ विकेट लिए।

यसअघि नेपालले बुधबार युएईलाई ७ विकेटले पराजित गरेको थियो। अब नेपालले शनिबार हङकङ र सोमबार युएईसँग खेल्नेछ। त्यसपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच फाइनल हुनेछ।