आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

हमासको आक्रमणमा मारिने इजरायलीको संख्या ३०० पुग्यो, १५ सय बढी घाइते

गोकर्णेश्वर खबर२१ आश्विन २०८०, आईतवार ०८:५६ मा प्रकाशित (७ महिना अघि) २१७ पाठक संख्या

एजेन्सी । इस्लामिक प्रतिरोध आन्दोलन (हमास) ले हिजो बिहानदेखि थालेको आक्रमणमा तीन सयभन्दा बढी इजरायली नागरिकको मृत्यु भएको छ । हमासको आक्रमणमा १५ सय ९० जना बढी घाइते भएका इजरायल डिफेन्स फोर्स (आईडीएफ) लाई उद्धृत गर्दै द टाइम्स अफ इजरायलले जनाएको छ । यीमध्ये तीन सयको अवस्था चिन्ताजनक छ । इजरायली शहरका अस्पतालहरू घाइतेहरूले भरिभराउ बनेका छन् ।

इजरायलले आफू युद्धमा रहेको भन्दै हिजैदेखि प्रत्याक्रमण थालेको छ । इजरायलको जवाफी आक्रमणमा कति मारिए भन्ने विवरण सार्वजनिक भएको छैन ।

गाजाका केही सीमावर्ती समुदायलाई प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणबाट मुक्त गराउने इजरायली सेनाको प्रयासका क्रममा नरसंहारको अवस्था बनेको बताइएको छ । इजरायली अखबार जेरुसलेम पोस्टका अनुसार, हमासले सीमाभन्दा २४ किलोमिटर टाढासम्मका शहर र अन्य समुदायसहित दक्षिणी इजरायलका २२ ठाउँमा आक्रमण गरेको छ । केही स्थानसम्म आक्रमणकारीहरू बन्दुक बोकेर घण्टौँ घुमेका थिए । यस क्रममा उनीहरूले नागरिक र सैनिकमाथि गोली बर्साए, यीमध्ये कति नागरिक आफ्नै घरमा मारिए र केही सडकमै मारिए । एउटा ठूलो आउटडोर पार्टीमा पनि मानिसहरू मारिए, द टाइम्स अफ इजरायलमा समाचार छ ।

शनिबार बिहानदेखि हमासले इजरायलमाथि हवाइ, समुद्री र स्थल आक्रमण थालेको हो । हमासले यो आक्रमणलाई इजरायलविरुद्धको अपरेसन भनेको छ । तर, इजरायलले यसलाई युद्ध भनेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई यसको कठोर जवाफ दिने बताएका छन् ।

इजरायल र हमासबीचको लडाइँमा प्यालेस्टाइनी र इजरायली गरी गतवर्ष सयभन्दा बढीको मृत्यु भएको थियो । सन् २०१४ मा पनि प्यालेस्टाइनका तर्फबाट यस्तै आक्रमण भएको थियो । त्यो बेला ५२ दिनसम्म लगातार हमासले बम हानेको थियो । २०१८ मा पनि तनाव चुलिएको थियो ।