आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

स्वास्थ्य क्षेत्रमा अब्बल गोकर्णेश्वर,काठमाडौंका स्थानीय तहमध्ये स्वास्थ्य सूचकाङ्कमा प्रथम स्थान हासिल

गोकर्णेश्वर खबर२० आश्विन २०८०, शनिबार १३:३४ मा प्रकाशित (७ महिना अघि) २५७ पाठक संख्या

काठमाडौं । काठमाडौंको पूर्वी भागमा रहेको गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । नगरपालिकाले स्वास्थ्यमा जनताको पहुँच र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिदैं काम गरेकै आधारमा विभिन्न क्षेत्रबाट अवार्ड देखि विभिन्न सम्मान पाएको छ । स्वास्थ्य सेवाका क्षेत्रमा गरिरहेको कामको मूल्यांकन गर्दै केही दिन अघि स्वास्थ्यखबरले दीगो विकास लक्ष्य अन्तर्गत नसर्ने रोगको उपचार, रोकथाम र जनचेतनाका क्षेत्रमा गरेको योगदानको कदर गर्दै स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान गरेको थियो।

त्यस्तै काठमाडौंका स्थानीय तहहरुमध्ये स्वास्थ्य सूचकाङ्कको आधारमा भएको मूल्यांकनमा गोकर्णेश्वर नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय काठमाडौंले आर्थिक वर्ष २०७९र८० को वार्षिक समिक्षा गोष्ठीको अवसरमा गरेको मूल्यांकनमा गोकर्णेश्वर नगरपालिका प्रथम भएको हो।

स्वास्थ्य कार्यालय प्रमुख सागर घिमिरेका अनुसार काठमाडौं महानगरसहित काठमाडौंका सबै स्थानीय तहको मूल्यांकन भएको थियो। सबै स्वास्थ्य संस्थाहरुले राख्ने हेल्थ म्यानज्मेन्ट इन्फरमेसन सिस्टमका आधारमा उक्त मुल्यांकन गरिएको थियो, घिमिरेले भने, उक्त मुल्यांकन प्रदेश स्वास्थ्य निर्देशनालयको अगुवाईमा भएको थियो। यसमा काठमाडौं महानगर तथा यहाँका नगरपालिकाहरुको मुल्यांकन गरिएको थियो। जसमा गोकर्णेश्वरले पहिलो स्थान हासिल गरेको हो।ु

गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले स्वास्थ्य कार्यालयको मूल्यांकनबाट प्रथम स्थान हासिल गरेसँगै थप काम गर्ने हौसला मिलेको प्रतिक्रिया दिए। उनले स्वास्थ्यका क्षेत्रमा काम गर्न साथ दिने सबैलाई धन्यवाद दिँदै भने स्वास्थ्यका क्षेत्रमा थप काम गर्ने छु। नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर लागिरहनेछु।

यसैगरी, स्वास्थ्य कार्यालयको मूल्यांकनमा दक्षिणकाली नगरपालिकाले दोस्रो स्थान र कीर्तिपुर नगरपालिकाले तेस्रो स्थान हासिल गरेका छन्।