आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

गोकर्णेश्ववासीको शान्ति सुरक्षाको लागि दिर्घकालिन योजनाहरुमा जोड : मेयर रिसाल

गोकर्णेश्वर खबर१८ आश्विन २०८०, बिहीबार २३:४४ मा प्रकाशित (७ महिना अघि) २५८ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दीपक रिसालले नगरवासीको शान्ति सुरक्षाको लागि दिर्घकालिन योजनाहरुमा जोड दिएको बताएका छन् ।

चाडपर्व नजिकिंदै जाँदा चोरि लगायत आपाराधिक कार्यहरु बढ्न सक्ने भन्दै सचेत रहन नगरवासीलाई आग्रह गरे ।

त्रिवेणी ब्यांकेटमा आयोजित शान्ति सुरक्षा सम्वन्धि सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख रिसालले नगरवासीको सुरक्षाको लागि नगरपालिकाले शान्ती सुरक्षार्थ खटिएको प्रहरीसँग समन्वय गर्दै चाडपर्वहरुमा हुने घटनाहरुलाई न्यूनिकरण गर्न दिर्घकालिन योजनाहरुमा जोड दिएको बताए । उनले नगरवासीको सुरक्षाको लागि नगरका विभिन्न स्थानहरुमा सिसिक्यामरा जडान, सडकहरुमा बत्ति जडान लगायतका दिर्घकालिन व्यवस्थापनका योजनाहरु अगाडी सारेको उल्लेख गरे ।

कार्यक्रममा नगर उपप्रमुख सान्नानी लामाले पछिल्लो समय बढ्दो चोरी,डकैती,लुटपाटका घटनाहरुमा नागरिक स्वयं पनि सचेत रहनु पर्ने बताईन । उनले मेलापर्व भन्दै महंगा गरगहना लगाउने र भिडभाडमा चोरी गर्ने गिरोह झन सक्रिय हुने भन्दै यस्ता मुल्यवान सामानहरुको प्रयोगमा सचेत रहन आग्रह गरीन् । उनले गरगहनाकै कारण कैयौंले ज्यान जोखिममा रहेको भन्दै प्रहरी प्रशाशनलाई चनाखो भएर जनताको सुरक्षामा खटिन आग्रह गरीन् ।

त्यस्तै गोकर्णेश्वर वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठले शान्ति सुरक्षा दिन वडा र नगरपालिकाले प्रहरी र नागरिकसँग समन्वय गरिरहेको भन्दै सबै पक्षको समन्वयले मात्र शान्तिसुरक्षा र चोरीको जोखिम घटाउन सकिने उल्लेख गरे ।

प्रहरी वृत बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक राजु पाण्डेले चाडपर्व लक्षित बजार व्यवस्थापन तथा ठगि गर्नेहरूलाई कार्वाही गर्ने बताए । पाण्डेले शान्ति सुरक्षाको सम्वन्धमा विस्तृत पक्षहरुका बारे जानकारी गराउँदै सहभागिहरुको जिज्ञासाको समेत जवाफ समेट्ने प्रयास गरेका थिए ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८, ९ र ४ तथा सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटी प्रहरी वृत्त बौद्धको आयोजनामा भएको कार्यक्रम वडा नं। ६ का वडा अध्यक्ष तथा नगर सुशासन समितिका संयोजक नवराज लामा, वडा सदस्यहरू लगायतको आतिथ्यथा रहेको थियो ।