आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

नेपालगञ्ज घटनाबारे गगन थापाको अपिल: धार्मिक,सामाजिक सद्भाव भड्काएर विद्वेष फैलाउँने कार्य नगरौं

गोकर्णेश्वर खबर१७ आश्विन २०८०, बुधबार १६:४८ मा प्रकाशित (७ महिना अघि) १२३ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्व र सद्भाव कायम राख्न अपिल गरेका छन् । उनले विगत केही समयदेखि देशका विभिन्न भागमा धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सद्भाव भड्काउने खालका अवाञ्छित र रहस्यमय गतिविधि भएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै उनले भनेका छन्, ‘धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सद्भाव भड्काएर सामाजिक विद्वेष तथा घृणा फैलाउने कुत्सित अभिष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेको कारणले हिजोदेखि नेपालगञ्जमा कर्फ्यु जारी गर्नुपरेको छ, जुन गम्भीर चिन्ताको विषय हो ।’

हाम्रो देश नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुभाषिक राष्ट्र भएको भन्दै थापाले आफ्नो धार्मिक तथा सांस्कृतिक आस्थाअनुसार धर्म र संस्कृति अनुसरण तथा अभ्यास गर्ने स्वतन्त्रता हरेक नेपाली नागरिकलाई रहेको स्मरण गराएका छन् । उनले भनेका छन्, ‘यो मौलिक अधिकारलाई नेपालको संविधानले समेत पूर्ण प्रत्याभूति गरेको छ ।’

विश्व शान्तिका प्रतीक भगवान गौतम बुद्धको जन्मभूमि तथा शान्तिभूमि नेपालबाट हामीले विश्वलाई शान्ति, सहिष्णुता, सद्भाव र सहअस्तित्वको सन्देश प्रवाह गर्दै आएका भन्दै थापाले यो गौरवमय पहिचान र परम्परालाई कायम राख्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘त्यसैले हाम्रो देश नेपाल र हामी नेपालीको मौलिक र गौरवमय पहिचान, परम्परा र स्वभावविपरीत धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव भड्काउने अवाञ्छित क्रियाकलापप्रति सचेत हुँदै शान्ति, सहिष्णुता तथा सहअस्तित्वको सन्देश प्रवाह गर्न सबै धार्मिक, सांस्कृतिक तथा जातीय समुदायप्रति विनम्रतापूर्वक हार्दिक अपिल गर्दछु ।’