आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

पत्नी चढेको गाडी ट्राफिकले रोकेपछि सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने मेयर बालेनको धम्की

गोकर्णेश्वर खबर१७ भाद्र २०८०, आईतवार ०९:०४ मा प्रकाशित (८ महिना अघि) ९६ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदरबार जलाउने धम्की दिएका छन्।

मेयर शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने धम्की दिएका हुन्।

ट्राफिक प्रहरी स्रोतका अनुसार शनिबार राति ९ बजेतिर बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बर प्लेटको गाडी तीव्र रफ्तारमा आएको थियो।

ड्युटीमा रहेका ट्राफिक प्रहरीले रोक्दै ‘बिदाको दिन सरकारी गाडी चलाउने अनुमति पत्र बोक्नु भएको छ?’ भन्दै सोधखोज गरेका थिए।

त्यसैको झोंक उनले सामाजिक सञ्जालमा फेरका छन्।

‘आजको लागी केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार१,’ मेयर शाहले शनिबार राति नै सामाजिक सञ्जालमा लेखेका थिए।

यसबारे हामीले उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टलाई सोधेका थियौं।

उनले कोटेश्वर क्षेत्रमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले केही बेर सरकारी गाडी रोकेको बताए।

‘बिदाको दिन सरकारी गाडी देखिएपछि ड्युटीमा रहेकाले अनुमति लिनु भएको छ भन्दै सोधेका हुन्, त्यो खासै ठूलो कुरा होइन। सरकारी गाडी दुई—तीन मिनेट पनि नरोकिएको जानकारी गराएका छन्। गाडीमा को थियो त्यो याद गर्ने कुरा भएन। त्यहाँ खटिएका ट्राफिक प्रहरीले नम्बर समेत नटिपी छाडेका रहेछन्,’ उनले भने।

एक अधिकारीले दिएको जानकारी अनुसार गाडीपछाडि महिला बसेकी थिइन्। चालक आफैंले काठमाडौं महानगरपालिकाको गाडी रोक्नुपर्नाको कारण के हो भनेर सोधेको ती अधिकारीले बताए।

स्रोतका अनुसार कोटेश्वरमा पत्नी चढेको गाडी रोकिएपछि मेयर शाहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई राति नै फोन गरेका थिए। उनले काठमाडौं महानगरपालिकाको गाडी चेकिङ गर्नाको कारण पनि सोधखोज गरेका थिए।

‘बिदाको दिन सरकारी गाडी चेक हुन्छ। कुन उद्देश्यका लागि चलेका छन् भनेर सोधखोज गर्नु ड्युटीमा खटिएका प्रहरीको कर्तव्य हो। उनीहरूले आफ्नो कर्तव्य पालना गरेका हुन्। मेयर शाहलाई यसमा चित्त बुझेनछ,’ प्रमुख जिल्ला अधिकारी स्रोतले भन्यो, ‘काठमाडौं महानगरपालिकाका कुनै पनि गाडी रोकिनु हुँदैन भन्ने उहाँको सोच रहेछ। पछि स्ट्याटस पनि त्यही ढंगबाट आयो।’