आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

नाबालिग बलात्कार घटनामा जोडिएका एलओडीका सञ्चालक सुवाल पक्राउ

गोकर्णेश्वर खबर२२ असार २०८०, शुक्रबार ००:१९ मा प्रकाशित (१0 महिना अघि) २६६ पाठक संख्या

काठमाडौं । १६ वर्षीया नाबालिगको बलात्कारको घटनामा ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) का सञ्चालक पक्राउ परेका छन्।

सञ्चालक राजुसिंह सुवाललाई बिहीबार बालुवाटारबाट पक्राउ गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहले बताए।

कम्पनीको प्रबन्धपत्रमा रूदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवाल सञ्चालक छन्। उनीहरूविरूद्ध असार १३ गते नै पक्राउ पुर्जी जारी भएको थियो।

घटनाबारे थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइने एसएसपी शाहले जानकारी दिए।

यस घटनामा प्रहरीले जबरजस्ती करणी भएको भन्दै नाबालिगले प्रहरीलाई खबर गरेपछि आरोपित पुरूषलाई पक्राउ गरिसकेको छ।

बलात्कार अभियोगमा पक्राउ पर्नेमा पोखरा घर भई बागडोलमा बस्ने ५० वर्षीय सुदन कोइराला छन्।

नाबालिगको बलात्कार भएपछि प्रहरीले एलओडी क्लबलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै दुई सञ्चालकविरूद्ध जिल्‍ला अदालत ललितपुरबाट पक्राउ अनुमति लिएको हो।

प्रहरी स्रोतका अनुसार १६ वर्षीया नाबालिग जेठ ३१ गते राति फेसबुकबाट चिनजान भएकी एक साथीसँग क्लबमा पुगेकी थिइन्। यसरी क्लबभित्र पसेकी पीडितको भेट कोइरालासँग भएको थियो।

‘फेसबुकमा भेट भएको साथीसँग एलओडी गएकी रहेछन्। घुम्न जाऔं भनेपछि त्यहाँ पुगेको देखिन्छ,’ स्रोतले भन्यो, ‘त्‍यसपछि साथीचाहिँ कहाँ गइन् थाहा हुन्न। पीडितले साथीसँगै घर जान्छु भनेकी हुन्छ। तर पुरूषले साथी भएकै ठाउँमा लग्छु, मसँगै छ भनेर बागडोल पुर्‍याएको देखिन्छ।’

घटना भएयता किशोरीकी ती साथी सम्पर्कविहीन छिन्।

सुदन फाइबरको एक कम्पनी चलाउँछन्। उनको बागडोलस्थित अफिसमा पुर्‍याएर नाबालिगमाथि बलात्कार भएको प्रहरीले जनाएको छ।

बलात्कार भएको खबर पाएपछि प्रहरीले सुदनलाई पक्राउ गरेको थियो।