आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

बलात्कार मुद्दामा जोडिएपछि एलओडीका सञ्चालक फरार

गोकर्णेश्वर खबर२१ असार २०८०, बिहीबार १४:५५ मा प्रकाशित (१0 महिना अघि) २७ पाठक संख्या

काठमाडौँ । काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबका सञ्चालक फरार भएका छन्।

नाबालिग बलात्कारको मुद्दामा जोडिएपछि एक सातादेखि मोबाइल फोन बन्द गरेर सञ्चालक रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवाल फरार भएको प्रहरीले जनाएको छ।

प्रहरीले क्लबका दुई सञ्चालकविरुद्ध असार १३ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएको थियो।

पक्राउ पूर्जी लिएलगतै लाजिम्पाटस्थित उनीहरुको निवासमासमेत प्रहरीले खानतलासी गरेको थियो। तर उनीहरु फेला परेका छैनन्।

उक्त क्लबबाट १६ वर्षीया नाबालिगलाई लगेर बलात्कार गरेको आरोपमा पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेपछि क्लब पनि तानिएको हो।

नाइट क्लबमा नाबालिग प्रवेश गर्न मिल्दैन। तर ती नाबालिगलाई क्लबमा प्रवेश गर्न दिएको भन्दै प्रहरीले उनीहरुलाई पनि पक्राउ गर्न अनुमति लिएको हो।

जेठ ३१ गते ललितपुरको बागटोलमा नाबालिगलाई बलात्कार गरेको आरोप छ। घटनाको भोलिपल्टै पीडितले कोइरालाविरुद्ध जाहेरी दिएकी थिइन्।

कोइरालालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए।