आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

एक कप चिया पिउँदा समेत जनताको सुख दुःख बुझेर खर्च गर्नुपर्छ : मन्त्री लामा

गोकर्णेश्वर खबर१४ असार २०८०, बिहीबार १५:३१ मा प्रकाशित (१0 महिना अघि) ७१ पाठक संख्या

काठमाडौं । वागमती प्रदेश खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तिर्थ लामाले हरेक शिर्षकमा खर्च गर्दा जनताको सुख दुःख बुझेर खर्च गर्नुपर्ने बताएका छन् ।

तेमाल गाउँपालिकाको १३ औं अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री लामाले एक कप चिया पिउँदा समेत जनताको सुख दुःख बुझेर खर्च गर्नुपर्ने बताएका हुन ।

५ वर्षको लागि जनताले चुनेर पठाएकोले जनताको मन बुझेर काम गर्न समेत तेमालका जनप्रतिनिधिहरुलाई आग्रह गरे । ‘तपाईंहरु ५ वर्षको लागि जनताले चुनेर पठाएको प्रतिनिधि हो । जनताका दैनिक समस्यासँग परिचित हुनैपर्छ । जनताको लागि काम गर्नुपर्छ’ मन्त्री लामाले भने ‘ तेमालको जनताले सराप्ने ठाउँमा पुग्नु नपरोस । ‘तपाईं एक कप चिया पिउँदा, एक बोतल पानी पिउँदा, गाडीमा तेल हाल्दा किन नहोस्, तेमालका जनताको सुख दुःख बुझेर खर्च गर्नुपर्नेछ । अत्यन्त पारदर्शी ढंगले काम गर्न म अनुरोध गर्दछु ।’

जनप्रतिनिधिहरुले ठूलो अवसर पाएको बताउँदै जनताको जीवनमा केही न केही परिवर्तन हुने काम गर्न सकेन भने इतिहास मधुरो हुने लामाले बताए ।

तेमालको समृद्धिको लागि राजनीतिक यात्रामा भएको हिजोको तिता मिठा कुराहरु विर्सेर अगाडि बढ्न जरुरी बताउँदै मन्त्री लामाले सोच्ने कुराहरुमा फराकिलो बनाउन आग्रह गरे ।

सम्बोधनकै क्रममा मन्त्री लामाले तेमाल गाउँपालिकामा वागमती प्रदेश सरकारले तेमालमा साँढे १७ करोड बजेट विनियोजन गरेको बताए । ‘वागमती प्रदेश सरकारले यो गाउँपालिकालाई मात्र साँढे १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सिंचाई, खानेपानी, भौतिक पूर्वाधार, सामाजिक विकास या वन सबै मन्त्रालयबाट साँढे १७ करोड बजेट बिनियोजन भएको छ ।’ मन्त्री लामाले भने, ‘साँढे ६ करोड सिंचाईको लागि, लगभग ५ करोड जति खानेपानीको लागि बजेट छुट्याएको छ । २ करोड जति बाटोको लागि छुट्याएको छ ।’

उनले बजेट पर्नु ठूलो कुरा नभएको बताउँदै कार्यान्वयन गर्नु ठूलो कुरा भएको र पारदर्शी ढंगले कार्यान्वयन गर्नु आफूहरुको दायित्व भएको प्रष्ट पारे ।