आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

बालकृष्ण खाँणलाई भेट्न केन्द्रीय कारागार पुगे परराष्ट्रमन्त्री साउद

गोकर्णेश्वर खबर८ असार २०८०, शुक्रबार १०:४३ मा प्रकाशित (१0 महिना अघि) ४७ पाठक संख्या

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद केन्द्रीय कारागार, सुन्धारा पुगेका छन् ।

बिहीबार बिहान १० बजे कारागार पुगेर करिब आधा घन्टा साउदले खाँणसँग भेटघाट गरेको कारागार प्रशासनले स्रोतले बतायो । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

बिहीबारै कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दाम्बे र महेन्द्र यादवले पनि खाँणसँग भेट गरेका छन् । बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि खाँणलाई भेटेका थिए ।

जिल्ला अदालत, काठमाडौंले १ असारमा खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेश कार्यान्वयनका क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरुलाई केन्द्रीय कारागार लगेको थियो ।

२९ असार २०७८ देखि १३ माघ २०७९ सम्म गृहमन्त्री भएका बेला नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गर्ने गिरोहलाई सहयोग हुने गरी काम गरेको आरोप खाँणमाथि छ ।