आज: २८ बैशाख २०८१, शुक्रबार | Fri, 10, May, 2024

बजेट भेदभावपूर्ण छ पास गर्न दिइँदैन : सुवास नेम्वाङ

गोकर्णेश्वर खबर२ असार २०८०, शनिबार १९:१६ मा प्रकाशित (१0 महिना अघि) २०० पाठक संख्या

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले बजेट पास हुन नदिने बताएका छन्।

शनिबार पार्टीका मधेस प्रदेश सभा सदस्यहरूलाई प्रशिक्षण दिन जनकपुर पुगेका उनले बजेट भेदभावपूर्ण रहेको भन्दै पास हुन नदिने बताए।

उनले भौतिक मन्त्रालयबाट ५ अर्बको बजेटमध्ये ५१ प्रतिशत बजेट ४ वटा जिल्लामा र बाँकी ४९ प्रतिशत बजेट ७३ जिल्लामा दिनेगरी भेदभावपूर्ण रूपमा गरिएको बजेटको समर्थन गर्न नसकिने बताए।

‘भौतिक मन्त्रालयमा ५१ प्रतिशत झन्डै ५ अर्बको बजेट। त्यसमा ३ अर्ब मात्रै थियो रे माग्दा अर्थमन्त्रीले उदारतापूर्वक ५ अर्ब पुर्‍याइदिनुभयो रे। के भयो यो भनेको त ५१ प्रतिशत ४ जिल्लामा छ,’ उनले भने, ‘यो बजेट देशका लागि हो, यसरी देशका लागि बजेट बनाइन्छ। संघीय संसदमा सत्तापक्षकै सांसदहरूले बोलेको सुन्दा सत्तापक्ष की प्रतिपक्ष हो थाहा हुँदैन। भेदभावविरूद्धको आगो त्यहाँ छ। यो बजेट पास गर्न दिइँदैन।’

यस्तै अवकासमा जान लागेका कर्मचारीलाई मुख्यसचिव बनाएर कार्यकाल बाँकी रहेकालाई राजीनामा दिन बाध्य बनाएको उनले बताए।

सुरक्षा परिषद्मा लगेर थन्क्याउनु देशको रक्षा र विकासका लागि नभएको पनि उनले बताए।

‘भोलि आइतबार सचिवको म्याद सकिन्छ भन्ने व्यक्ति ३ दिनअघि मुख्यसचिव हुनुभयो। मुख्यसचिवको पद खाली थिएन। मुख्यसचिवमा काम गरिरहेका व्यक्ति उहाँको अझै तीन महिना म्याद थियो। तर अचानक उहाँलाई राजीनामा गराइयो,’ उनले भने, ‘अनि उहाँलाई सुरक्षा परिषद्मा लगेर नियुक्ति गरियो। जुन धेरै वर्षदेखि खालि थियो।’

उनले थपे, ‘केको लागि, देशका लागि? होइन। हामी अब सुन्दैछौं, अहिले भर्खरै रिटायर हुनुभएका मित्रलाई बाहिर कतै विदेशमा दुई तीन महिनापछि पठाउने भन्ने सुन्दैछौं। उहाँ सक्षम व्यक्ति हुनुहुन्छ, मेरा विद्यार्थी हुनुहुन्छ कानूनका तर देश यो ढंगले चल्छ की चल्दैन।’