आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

नेपाल प्रवेश गर्‍यो मनसुन

गोकर्णेश्वर खबर३१ जेष्ठ २०८०, बुधबार १८:३० मा प्रकाशित (१0 महिना अघि) २४ पाठक संख्या

काठमाडौँ । वर्षायाम सुरु गराउने मौसमी प्रणाली ‘मनसुन’ नेपाल प्रवेश गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(जुन १४ तारिख) मा देशका कोशी प्रदेश, पूर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश क्षेत्र र गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा मनसुन भित्रिएको हो।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो। यस हिसाबले यस वर्षको मनसुन सरदर मितिभन्दा १ दिन ढिला गरी प्रवेश गरेको महाशाखाले जनाएको छ।

अब देशका अन्य स्थानमा क्रमशः मनसुन फैलिँदै जाने महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए। मनसुन आएपछि मौसम बदली(बादल लाग्ने) र वर्षा हुने क्रम ह्वात्तै बढ्छ।

‘भोलि (बिहीबार) र पर्सि (शुक्रबार) कोशी, बागमती र गण्डकी प्रदेश तथा देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ’, उनले भने।

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा हो भने यसभन्दा माथि र ५० मिलिमिटरभन्दा कम पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।

अरेबियन सागरमा शक्तिशाली चक्रवात बनेकाले नेपालको पश्चिमी क्षेत्रमा भने मनसुनी गतिविधि सुरु हुन केही ढिला भइरहेको मौसमविद् झाले बताए।

‘२/३ दिनभित्र देशका अन्य स्थानमा पनि मनसुन पुग्ने अनुमान छ’, उनले भने।