आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

तारेभिरमा मृत भेटिए ५० वर्षीय सुवास तामाङ

गोकर्णेश्वर खबर२७ जेष्ठ २०८०, शनिबार १६:४२ मा प्रकाशित (११ महिना अघि) ६६७ पाठक संख्या

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ स्थित तारेभिरमा एक पुरुष मृतवस्थामा फेला परेका छन्।

आज बिहान तारेभिरको जंगल छेउको खोल्सामा सर्लाही घर भएका ५० वर्षीय सुवास तामाङ मृत फेला परेको प्रहरीले जनाएको छ । उनी केही समयदेखि काठमाडौंको बुढानीलकण्ठमा टहरा बनाएर कान्छी श्रीमतीसँग बस्दै आएको बताइएको छ ।

शुक्रबार मध्याह्नतिर श्रीमतीलाई ‘काम खोज्न जान्छु’ भनेर बुढानीलकण्ठस्थित घरबाट निस्किएका सुवास आज बिहान तारेभिरको जंगल छेउको खोल्सामा मृत अवस्थामा फेला परेका हुन ।

प्रहरीका अनुसार सुवास मृत फेला परेको खोल्सामाथि गोरेटो बाटो छ। त्यहाँ लेऊ लागेका ढुंगाहरू पनि रहेका कारण ढुंगामा चिप्लिएर खोल्सामा पछारिएको हुनसक्ने प्रहरीको अनुमान छ। खोल्सामा पनि ढुंगैढुंगा रहेको र त्यही ढुंगामा बजारिएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

सुवासकी कान्छी श्रीमती र आफन्त पनि घटनास्थल पुगेका थिए। उनीहरूसँग सामान्य सोधपुछ र सनाखतपछि शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।