आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

कोशीमा पहिचानको आन्दोलनमा एमाले नेता–कार्यकर्तालक्षित आक्रमण भएको भन्दै प्रतिकारमा उत्रन ओलीको निर्देशन

गोकर्णेश्वर खबर२५ जेष्ठ २०८०, बिहीबार १६:२३ मा प्रकाशित (११ महिना अघि) ३० पाठक संख्या

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा पार्टीका नेता–कार्यकर्तालक्षित आक्रमण भएको भन्दै प्रतिवादमा उत्रन भनेका छन्।

बिहीबार पार्टी मुख्यालय च्यासलमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई शपथ गराउँदै उनले कार्यकर्ताहरूको रक्षा आफैंले गर्नुपर्ने परिस्थिति आएको बताएका हुन्।

प्रदेश सभा सदस्य राम रानालाई इलाममा मोबिल छर्केर आगो लगाउने प्रयास गरिएको एमाले अध्यक्ष ओलीको दाबी छ।

‘मोबिल छर्केर आगो लगाउनेसम्मको हर्कत यो राजनीति हो?,’ उनले भने, ‘अब एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था भयो। सरकारले यो गराइराख्या छ भने एमाले चुप लागेर बस्न सक्दैन। हाम्रा कार्यकर्ताहरूको रक्षा हामी आफैंले गर्नुपर्छ भने तयारी गर्नुपर्छ।’

उनले कोशी प्रदेशमा भइरहेको आन्दोलनलाई सरकारकै संरक्षण रहेको आरोप लगाए।

‘प्रचण्ड सरकारले प्रोत्साहित गरेको छ, संरक्षण गरेको छ। यसको जवाफ दिनुपर्ने बेला आइसक्योजस्तो लाग्छ,’ उनले भने, ‘अस्ति म जाँदाखेरी ढुंगामुढा गरे। तर, सरकारले केही गरेन। प्रहरीको टाउको फुट्यो, टाउको कुच्चियो। सबै हुँदा पनि प्रहरीलाई केही नगर्नु भनेको छ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाति(जातिको राज्य बनाउँछु भनेर पहिला नै विष फैलाउन खोजेको नसकेपछि फरक तरिकाले अभियानलाई संरक्षण गरेको पनि आरोप लगाए।

‘यस कुरामा हाम्रो पार्टी किञ्चित डराउँदैन। लच्किँदैन, झुक्दैन। नो कम्प्रोपाइज। किरात प्रदेश किन राख्न खोजिएको रहेछ हामी बुझ्दैछौं नि, नराख्दा त यस्तो छ, राखेपछि के होला? गैरकिरात त त्यहाँ बस्न पनि नसक्ने रहेछ नि,’ उनको अभिव्यक्ति थियो।