आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

बजेटमा मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने कुनै पनि भिजन छैन : ओली

गोकर्णेश्वर खबर२३ जेष्ठ २०८०, मंगलवार १७:३५ मा प्रकाशित (११ महिना अघि) ३६ पाठक संख्या

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको दाबी गरेका छन् । समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने कुराभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको ओलीको भनाइ छ ।

संविधानमा समाजवादउन्मुख अर्थतन्त्र भनेको छ । समाजवादउन्मुख अर्थतन्त्र भनेको पुँजीउन्मुख होइन, मानवउन्मुख हो । घरानाउन्मुख होइन, समाजउन्मुख हो । ठूलालाई पैसा कमाउने अवसरमाथि अवसर थप्ने होइन । आमजनताको जीवनस्तर माथि उठाउने हो, ओलीले भने, उत्पादन, उत्पादकत्व वृद्धि गर्ने नाममा पुँजीको केन्द्रीकरण होइन । वितरणमा न्यायोचिततासहितको बजेट हो । त्यसमा विमुख छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै ओलीले बजेटमा मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने कुनै पनि भिजन नभएको दाबी गरे ।

बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोसेराको जस्तो भएको उल्लेख गर्दै उनले त्यसले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नसक्ने टिप्पणी गरे ।

चिलको जस्तो आँखा हुनुपर्नेमा लाटोकोसेराको जस्तो छ बजेटको आँखा । यसले देख्दैन, भिजन छैन । पोलिसी छैन, ओलीले भने, माननीयजीहरूले पछि बहस गर्ने क्रममा जवाफ त मलाई दिन सक्नुहुन्छ । परिणामबाट, उपलब्धिबाट जवाफ दिनुस्, म सत्तापक्षलाई भन्न चाहन्छु ।

बजेटबारे आफूले गरेको टिप्पणीलाई आलोचना गर्नभन्दा पनि उपलब्धिमा देखाउन सत्तारुढ गठबन्धनलाई ओलीले चुनौती दिए ।

ओलीले बजेटलाई सुतेर बसेको अजिङ्गरसँग तुलना गरे । सुतेर बसेको अजिङ्गरले जस्तो बजेटमा भन्सारबाट आऊला र खाऊँला भन्ने आशा मात्रै रहेको उनको दाबी छ ।

‘अजिंगरजस्तो छ । डम्म सुतेको छ । अगाडि केही आयो भने तानेर खाऊँला भनेर बसेको छ । भन्सार राखिदिएको छ । त्यहाँबाट रकम असुल भयो भने, एयरपोर्टबाट भयो भने, भैरहवाबाट भयो भने, उताबाट भयो भने आएको बजेट भन्सारमा थापेको छ नि त्यस टोकरीमा आइलाग्यो भने स्वाप्प पार्ने,’ ओलीले भने ।