आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

दरबार हत्याकाण्डदेखि दासढुंगा घटनाको पनि छानबिन हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

गोकर्णेश्वर खबर४ जेष्ठ २०८०, बिहीबार १४:५५ मा प्रकाशित (११ महिना अघि) ५६ पाठक संख्या

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंश नै सकिने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको छानबिन हुनुपर्ने बताएका छन्।

बिहीबार बसेको संसद बैठकमा आमजनता पार्टीका सांसद प्रभु साहले २०६३ साल चैत्र ७ गते २७ जना माओवादी कार्यकर्ताको ज्यान जाने गरी भएको गौर हत्याकाण्डबारे उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

‘विगतमा ठूला हत्याकाण्ड सबैको छानबिन हुनुपर्छ। गैरन्यायिक हत्यामा सरकार चुप बस्न सक्दैन। गौर हत्याकाण्डको छानबिन गरेर दोषीलाई कारबाही गर्ने पक्षमा म छु’, उनले भने, ‘अब गौरमात्रै होइन, दरबार हत्याकाण्डको पनि छानबिन हुनुपर्छ। दरबारभित्र भएको उक्त गम्भीर हत्यकाण्डको पनि छानबिन गरेर कारबाही हुनुपर्छ।’

उनले एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको ज्यान जाने गरी चितवनको दासढुंगामा भएको घटनाको पनि छानबिन हुनुपर्ने बताएका छन्।

‘मदन-आश्रितको घटनाको पनि छानबिन हुनुपर्छ’, उनले भने, ‘ठूला हत्याकाण्डबारे छानबिन गर्न म तयार छु।’