आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

गोकर्ण वनको पर्खाल हटाएर करिडोर सडक बनाउन सांसद चालिसेको माग

गोकर्णेश्वर खबर१२ चैत्र २०७९, आईतवार २१:०१ मा प्रकाशित (१ साल अघि) १४० पाठक संख्या

१२ चैत, काठमाडौं । संघीय सांसद सन्तोष चालिसेले आज संसदमा सम्बोधन गर्दै नेपाल ट्रष्ट अन्र्तगतको गोकर्ण बनमा पर्ने १०० मिटर बाटो फराकिलो बनाउन सम्वन्धित मन्त्रालयलाई ध्यानाकर्षण गरेका छन् । नेपाल ट्रष्ट अन्र्तगत पर्ने गोकर्ण बनमा बाटो साँघुरो हुँदा माकलबारीतर्फबाट गोकर्ण ड्याममा पुगेर करिडोर सडक निर्माण रोकिएको विषयमा चालिसेले संसद्मा आवाज उठाएका हुन् ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण वन क्षेत्रको जग्गामा सडक बनाउन सरोकारवाला निकायले सहमति दिनु पर्नेमा चालिसेले जोड दिए । गुह्येश्वरीबाट ५ की.मी. करिडोर सडक बने पनि गोकर्ण बनमा सडक विस्तार हुन नसकेकोले सभामुख मार्फत नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहेको चालिसेले बताए ।

चालिसेले आइतबारको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै करिब १०० मिटर बन क्षेत्रमा रहेको पर्खाल हटाएर सडक बनाउन माग गरेका हुन् ।

चालिसेले नेपाल ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण वन क्षेत्रमा बाटो फराकिलो बनाएर सडक बनाउन नपाउँदा त्यस क्षेत्रको विकासका साथै सवारी आवागमनमा समेत सहज हुन नसकेको बताए । यस अघि उनले सुन्दरीजलका माथिल्लो भेगका बासिन्दाले निकुञ्जमा पैसा तिरेर मात्र घर जान पाउने वाध्यात्मक अवस्था रहेको बारे संसदमा आवाज उठाएका थिए ।