आज: २८ बैशाख २०८१, शुक्रबार | Fri, 10, May, 2024

एसएसबीले नेपालीलाई कुटपिट गरेपछि महोत्तरीको सम्सी नाकामा प्रदर्शन

गोकर्णेश्वर खबर२ चैत्र २०७९, बिहीबार ०९:२० मा प्रकाशित (१ साल अघि) २४ पाठक संख्या

जनकपुरधाम । महोत्तरीको सम्सी नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का एक जवानले नेपाली युवकलाई कुटपिट गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । सम्सी गाउँपालिका–७ का सन्तोकुमार साहलाई एसएसबीले कुटपिट गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

नेपाली सीमा क्षेत्रबाट भारत प्रवेश गर्न खोज्दा एसएसबीले नेपाली नागरिकताको प्रमाणपत्र खोजेको विषयमा विवाद भएको र बुधबार अपराह्न साढे ५ बजेतिर साहलाई एसएसबीले कुटपिट गरेको स्थानीयको भनाइ छ ।

नेपाल तर्फको बाटो खराब भएकाले दशगजा क्षेत्रका नेपालीहरु भारतीय सडक हुँदै आउ–जाउ गरिरहन्छन् । सीमा क्षेत्रमा एसएसबीले पटक–पटक दुःख दिने गरेको गुनासो स्थानीयको छ ।

एसएसबीका जवानले बुधबार साहलाई दुर्व्यवहार र कुटपिट गरेको भन्दै सीमा क्षेत्रका नेपालीहरुले सम्सी नाकामा साँझ विरोध प्रदर्शन गरेका हुन् । सशस्त्र प्रहरी गणका अधिकृतले यो विषयमा दुवै पक्ष बसेर छलफल गर्ने बताएपछि स्थानीयले प्रदर्शन रोकेका थिए ।

सशस्त्र प्रहरी गण सम्सीका इन्सपेक्टर जयराम बस्नेतले यो विषयमा दुवै पक्षबीच आज छलफल हुने बताए । पटक–पटक भारतीय एसएसबीका जवानबाट कुटपिट र दुर्व्यवहारको घटना हुने गरेको स्थानीयको गुनासो रहेकाले यस विषयमा अब हुने दुई देशको सुरक्षा बैठकमा समेत छलफल गरिने इन्सपेक्टर बस्नेतको भनाइ छ ।