आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई विजयी गराउने आठ दलको सहमत 

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७९, शुक्रबार २०:२४ मा प्रकाशित (१ साल अघि) १७ पाठक संख्या

१२ फागुन, काठमाडौं । कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई अघि बढाउने निर्णय गरेको छ।

कांग्रेस महामन्त्री गगन थापाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले नेपाली कांग्रेसको उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा राष्ट्रपतिको उम्मेदवार बनाउने र विजयी गराउने निर्णय गरेको हो ।

बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल चलेको थियो।

सुरुमा कांग्रेस, माओवादी। एकीकृत समाजवादी र जसपामात्र बैठकमा बसे पनि रात छिप्पिँदै जाँदा लोसपा, नागरिक उन्मुक्ति, जनमत र जनमोर्चा पनि बैठकमा थपिएका थिए।

आठ दलले सहमति दिएपछि प्रतिनिधिसभामा ठूलो दल भएर पनि प्रतिपक्षमा रहेको कांग्रेस फेरि शक्तिमा फर्किएको छ । राष्ट्रपतिमा कांग्रेसलाई सत्तारुढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि साथ दिएका छन् भने विपक्षमा रहेका नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि साथ दिएका छन् ।