आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

राष्ट्रपति निर्वाचनको फेरोमा घुम्दै राष्ट्रिय राजनीति 

गोकर्णेश्वर खबर८ फाल्गुन २०७९, सोमबार १३:४६ मा प्रकाशित (१ साल अघि) २५ पाठक संख्या

८ फागुन, काठमाडौं । भावी राष्ट्रपतिका लागि कोसँग समीकरण बनाउने भन्ने सुझाव र निर्णय लिन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टी पदाधिकारीको बैठक बोलाएका छन् ।

राष्ट्रपति उम्मेदवार सन्दर्भमा कांग्रेसले पनि आइतबारबाट निर्णायक संवाद थालेको छ । उच्च स्रोतका अनुसार प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भावी राष्ट्रपति निर्वाचनमा सहकार्यको राजनीतिक मार्गचित्र कोरिएको छ । राष्ट्रपति निर्वाचनमा माओवादीको निर्णायक मत रहेकाले दाहालले एमाले र कांग्रेस दुवैलाई दबाबमा राखेर आफू अनुकूल ‘सफ्ट’ पात्रको खोजी गरिरहेका छन् ।

यसैगरी, राष्ट्रपति निर्वाचनले पूरानो सक्ता गठबन्धन ब्युँतिने सम्भावना पनि बढ्दै गएको विश्लेषण हुन थालेको छ । आम निर्वाचनपछि प्रधानमन्त्री चयन गर्ने बेला सो गठबन्धन टुट्न पुगेको थियो । पूर्व सहमति अनुसार नेपाली कांग्रेसले आफूलाई प्रधानमन्त्री दिन तयार नभएको भन्दै माओवादी अध्यक्ष प्रचण्ड नेकपा एमालेसहितको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री भएका थिए । अहिले राष्ट्रपतिको निर्वाचन नजिकिन थालेपछि वर्तमान सत्ता गठबन्धन भत्काएर फेरि पुरानै गठबन्धन निर्माण गर्न नेताहरू सक्रिय देखिएका छन् ।

आइतबार बेलुका ४ बजे प्रधानमन्त्री प्रचण्डलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले भेटेको नेपाल निकट एक नेताले बताए । प्रधानमन्त्री प्रचण्डलाई भेटेर नेपाल र यादवले पुरानो गठबन्धन निर्माण गर्ने विषयमा छलफल गरेको ती नेताले बताए ।

नेपाल र यादवले भेटे लगत्तै आइतबार राति नै नेपाली कांग्रेसका नेताहरूले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । प्रचण्डलाई भेट्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए ।

प्रचण्डसँग कांग्रेस नेताहरूले करिब २ घण्टासम्म भेटेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए । कांग्रेस नेताहरूले आफ्नो पार्टीका राष्ट्रपतिको उम्मेदवारलाई सघाउन आग्रह गरेपछि प्रचण्डले सकारात्मक जवाफ दिएको कांग्रेस नेताहरूको दाबी छ ।

अहिले राष्ट्रिय राजनीति राष्ट्रपति निर्वाचनको फेरोमा घुमिरहेको देख्न सकिन्छ । राष्ट्रपतिका विषयमा प्रचण्डले पार्टी बैठकमा छलफल गरेर आधिकारिक निर्णय गर्ने बताएका छन् । आगामी फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी दर्ता हुँदैछ भने निर्वाचन फागुन २५ गते हुँदैछ ।