आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

गोकर्णेश्वर खबर२६ माघ २०७९, बिहीबार २३:२८ मा प्रकाशित (१ साल अघि) ६९ पाठक संख्या

२६ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।

एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि आजै प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनी प्रदेश सभाको ठूलो दल नेताका हैसियतले शाहलाई मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । अब उनले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

विश्वासको मत नपाएपछि बिहीबार साँझ रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा दिएका थिए ।

शाह कैलाली निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए । उनले १० हजार ४३३ मत ल्याएका थिए ।

कांग्रेसको केन्द्रीय महाधिवेशनमा शेखर कोइराला पक्षमा रहेका उनी जिल्ला अधिवेशनदेखि संस्थापन अर्थात् देउवा पक्षमा छन् । उनी ०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा पराजित भएका थिए ।

प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, सांसद छन् । नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र र राप्रपाका १ सांसद छन् ।