आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

राप्रपा काठमाडौं ३ को चुनाव प्रचार प्रसार सम्पर्क कार्यालय उद्घाटन

गोकर्णेश्वर खबर१७ कार्तिक २०७९, बिहीबार १८:४७ मा प्रकाशित (१ साल अघि) ७४६ पाठक संख्या

१७ कार्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौं क्षेत्र नंं. ३ प्रतिनिधि सभा तथा प्रदेश सभा (क) चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको आज उद्घाटन भएको छ । आज बिहिबार गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जोरपाटी नयाँबस्तीमा जिल्ला अध्यक्ष नवराज सिंखडाले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष नवराज सिंखडाले देश गम्भिर अवस्थाबाट गुज्रिरहेकोमा जोड दिंदै जनतालाई जागरण गरी राष्ट्रवादी पार्टीका उम्मेदवारहरुलाई जिताउने वातावरण बनाउने जिम्मा राप्रपाका स्थानीय नेता कार्यकर्ताको आँधमा आएको बताए ।

सिंखडाले आफूलाई ठूला भन्ने राजनीतिक दलका नेताले देश र जनताको विरुद्धमा जनमतको दुरुपयोग गरिरहेकोले यस पटक जनता जागिसकेको बताए । उनले यस पटक देशका धेरै स्थानमा राप्रपाले जित्ने दावी गरे ।

क्षेत्रीय अध्यक्ष श्यामसुन्दर पण्डितको सभापतित्वमा भएको उद्घाटन समारोहलाई काठमाडौं ३ बाट राप्रपाका प्रतिनिधि सभाका उम्मेदवार गणेश गिरी, प्रदेश (क) का उम्मेदवार चुण्डी लामा, प्रदेश (ख) का उम्मेदवार कमल सुनार, क्षेत्रीय अध्यक्ष श्यामसुन्दर पण्डित लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नगर अध्यक्ष अनिल पराजुली, निर्वाचन परिचालन समिति संयोजक कुमार घिमिरे लगायत राप्रपाका नेता, कार्यकर्ता, शुभेच्छुक एवम् विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

राप्रपा काठमाडौं क्षेत्र नंं. ३ प्रतिनिधि सभा तथा प्रदेश सभा (क) चुनाव प्रचार प्रसार सम्पर्क कार्यालय जोरपाटी नयाँबस्तिमा रहेको नयाँबस्ति क्लबको अगाडी खोलिएको छ । उद्घाटन कार्यक्रम सञ्चालन नगर सचिव नविन काफ्लेले गरेका थिए ।