आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

दार्चुलाका ९ वर्षीय बालकको मृत्यु भएको घटनामा भारतीय पक्षले माग्यो माफी

गोकर्णेश्वर खबर१३ कार्तिक २०७९, आईतवार १२:३० मा प्रकाशित (१ साल अघि) ८४ पाठक संख्या

१३ कार्तिक, काठमाडौं । महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले माफी मागेको छ । भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत पनि उपलब्ध गराएको छ ।

भारतीय तावाघाट–लिपुलेक सडकको लखनपुर क्षेत्रमा विस्फोटपछि उछिट्टिएर महाकालीवारि आएको ढुंगा लागेर बालक पवन महराको मृत्यु भएको थियो । धारचुला–लिपुलेक–कैलाश मानसरोवर सडक खण्डअन्तर्गत नज्याङ–लखनपुर भीरमा भारतीय पक्षले बम विस्फोट गराउँदा बतासिएर वारि तम्बाकुमा आइपुगेको ढुंगा लागेर शुक्रबार बिहान महराको घटनास्थलमै मृत्यु भएको थियो ।

ढुंगा लागेर पवनकी दिदी १४ वर्षीया सरिना महरा घाइते भएकी छन् । उनीहरू बुबा हिक्मतसिंहसँगै व्यासकै थी गाउँबाट महाकालीको किनारैकिनार दुम्लिङस्थित घर फर्कंदै थिए । नेपालको प्रशासन र प्रभावित क्षेत्रका बासिन्दालाई पूर्वजानकारी नै नदिई भारतीय पक्षले शुक्रबार बिहान विस्फोट गराएको थियो ।