आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

काठमाडौंमा प्रतिनिधिसभातर्फ कांग्रेसको २ नयाँ अनुहार प्रदीप पौडेल र सन्तोष चालिसे 

गोकर्णेश्वर खबर२६ आश्विन २०७९, बुधबार ०८:२५ मा प्रकाशित (१ साल अघि) २५५ पाठक संख्या

२६ असोज, काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभातर्फ काठमाडौंमा नेपाली कांग्रेसले पाएको ६ सिटमा क्षेत्र नं. ३ र ५ मा नयाँ अनुहारलाई उठाएको छ । काठमाडौं ३ मा सन्तोष चालिसेलाई उठाएको छ भनें ५ मा प्रदीप पौडेललाई उठाएको छ ।

काठमाडौं–३ मा कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार सन्तोष चालिसे पहिलो पटक  प्रतिस्पर्धा गर्दै छन् । चालिसे २०७४ को स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए । मेयर पदको ५ वर्षे कार्यकाल सकेर उनले संघीय संसदमा पहिलो पटक चुनाव लड्ने अवसर पाएका हुन् ।

कांग्रेसले काठमाडौं–५ मा पनि नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा कांग्रेसका युवा नेता प्रदीप पौडेल उम्मेदवार बनेका छन् । संसदीय निर्वाचनमा उनको यो दोस्रो प्रतिस्पर्धा भए पनि प्रतिनिधिसभातर्फ भने उनको पहिलो चुनावी लडाइँ हो । उनी यसअघि गण्डकी प्रदेशसभा सदस्य पदका लागि २०७४ को निर्वाचनमा तनहुँ–२ (क)बाट प्रतिस्पर्धा गरेका थिए । सो निर्वाचनमा उनी माओवादी केन्द्रकी आशा कोइरालासँग पराजित भएका थिए ।

कांग्रेसले प्रतिनिधिसभा सदस्य पदका लागि चितवन, भक्तपुर, सिन्धुलीको एक÷एक र काठमाडौंको २ वटा क्षेत्रमा नयाँ उम्मेदवार उठाएको हो । कांग्रेसले चितवन–१, भक्तपुर–२, काठमाडौं– ३ र ५, सिन्धुली–१ मा नयाँ उम्मेदवारलाई अघि सारेको छ भने चितवन–२, काभ्रे–२, काठमाडौं–१, ४, ६, १०, रसुवा, नुवाकोट–२, सिन्धुपाल्चोक–२, धादिङ–२, मकवानपुर–१, ललितपुर–१ र रामेछापमा पुराना नेतालाई नै अवसर दिएको छ ।

त्यस्तै कांग्रेसले भक्तपुर–२ बाट कांग्रेसले दुर्लभ थापालाई उम्मेदवार बनाएको छ । कांग्रेस भक्तपुरका सभापतिसमेत रहेका थापालाई आगामी निर्वाचनमा नयाँ अनुहारका रुपमा अघि सारेको हो ।

कांग्रेसले बागमती प्रदेशमा गठबन्धनबाट पाएको १८ सिट मध्ये ५ सिटमा नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको छ । बागमती प्रदेशको ३३ वटा सिटमध्ये कांग्रेसको भागमा १८ सिट परेको थियो ।