आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

भदौमा दुई अर्ब ४२ करोड बराबरको बिजुली भारत निर्यात

गोकर्णेश्वर खबर५ आश्विन २०७९, बुधबार ०८:४६ मा प्रकाशित (१ साल अघि) १०३ पाठक संख्या

५ असोज, काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् गत भदौमा मात्रै नेपाल विद्युत् प्राधिकरणले रु दुई अर्ब ४२ करोड बराबरको बिजुली भारत निर्यात गरेको छ ।

देशभित्र खपत गरी बढी भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् प्राधिकरणले भदौमा निर्यात गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

सुरुमा दुई वटा विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरुपमा ‘आइएक्स’मा बिक्री गरिएको थियो । त्यसपछि गत २७ जेठदेखि दैनिकरुपमा छ वटा जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरुपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरी रु सात अर्ब १९ करोड ८६ लाख बराबरको रकम आर्जन गरेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले चार महिनाको अवधिमा विद्युत् बिक्रीबाट चार अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत् बिक्रीबाट एक अर्ब ५१ करोड पाँच लाख रुपैयाँ भारु आम्दानी भएको छ ।