आज: ३० बैशाख २०८१, आईतवार | Sun, 12, May, 2024

मिटरब्याजीविरुद्धसत्र उजुरी

गोकर्णेश्वर खबर९ भाद्र २०७९, बिहीबार ०७:०३ मा प्रकाशित (१ साल अघि) १४५ पाठक संख्या

काभ्रेपलाञ्चोक, भदौ ९ गते । चर्को ब्याजदरमा ऋण लगानी गर्ने मिटरब्याजीविरुद्धमा उजुरी गर्न गृह मन्त्रालयले आग्रह गरेपछि काभ्रेपलाञ्चोक जिल्लामा आफूहरूलाई चर्को ब्याज दरमा ऋण लगानी गरेको भन्दै १७ जना पीडितले उजुरी दर्ता गराएका छन् । साउन २७ गते गृहमन्त्रीस्तरीय बैठकले भदौ ५ गतेसम्ममा मिटरब्याजीविरुद्धमा उजुरी दिन निर्णय गरेको थियो ।

मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराउने समयमा काभ्रेपलाञ्चोक जिल्लामा १७ जनाले २१ जना मिटरब्याजी र चारवटा सहकारी संस्थाको नाममा मिटरब्याज र ठगी भएको भन्दै उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्लामा मिटरब्याजी र मिटरब्याजमा पैसा लगाउने संस्थाबारे छानबिन गर्न बाँकी रहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो । उहाँले कार्यालयमा परेका उजुरीको विषयमा गृह मन्त्रालयबाट जारी भएको कार्यविधिका आधारमा छानबिन गरिने बताउनुभयो । मन्त्रालयले प्रशासन कार्यालयमा दर्ता हुन आएका उजुरीमा प्रमुख जिल्ला अधिकारीले सम्बन्धित पक्षलाई झिकाई नियमसङ्गत लेनदेनको विषय भए छलफल गराई आपसी सहमतिमा छिनोफानो गर्ने, आपसी सहमतिमा छिनोफानो हुन नसकेका उजुरीलाई कानुनी प्रक्रियाका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउन निर्देशन दिएको छ ।

मिटरब्याजीको खोजी हुँदै

यसैबीच सिन्धुली समाचारदाताका अनुसार सिन्धुली जिल्लामा दुईजना ‘मिटरब्याजी’को खोजी सुरु भएको छ । दुधौली नगरपालिकाका दुई जनाले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार एक जनाले छ लाख रुपियाँ दिएर १२ लाख रुपियाँको र अर्कोले पनि पाँच लाख रुपियाँ दिएर १० लाख रुपियाँ बुझेको कागतमा सही गराएको उजुरीमा उल्लेख छ । कार्यालयले छानबिन, अनुसन्धानमा असहयोग पुग्ने भन्दै मिटरब्याजपीडित र पीडकको नाम भने गोप्य राखेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले गृह मन्त्रालयले कार्यविधि बनाएर भर्खरै पठाएकाले ती उजुरी उपर छानबिन, अनुसन्धान र कारबाही प्रक्रिया सुरु गरिने बताउनुभयो ।

“अब कार्यविधिअनुरूप कारबाही प्रक्रिया अघि बढाउछौँ,” उहाँले भन्नुभयो, “अहिले उजुरी आएको छ, त्यो मिटरब्याजी हो कि, अरू नै हो कि, सबै कुरा हेर्नुपर्छ ।” सरकारले गत साउन महिनामा यही भदौ ५ गतेभित्र मिटरब्याजीविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन अपिल गरेको थियो । उजुरीका आधारमा मिटरब्याज लगाउने आरोपितको खोजी सुरु गरिएको कार्यालयले जनाएको छ ।

– गोरखापत्र