आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

आजबाट काठमाडौं महानगरवासीले फोहोर वर्गीकरण गर्नै पर्ने

गोकर्णेश्वर खबर१ श्रावण २०७९, आईतवार ०९:०५ मा प्रकाशित (१ साल अघि) ९६२ पाठक संख्या

१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकामा नगरवासीले आजबाट कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गर्नु पर्ने भएको छ । महानगरले फोहोर वर्गीकरण नगरे जरिवाना समेत गर्ने जनाएको छ । महानगरले आज साउन १ गतेबाट अलग अलग फोहोर संकलन गर्न लागेको हो ।

काठमाडौंको फोहोर फाल्ने गरिएको ल्याण्डफिल साइट बञ्चरेडाँडा वरपरका बासिन्दाले आन्दोलन गरेपछि वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्न महानगरले पहल थालेको हो ।

महानगरपालिकाले शनिबार एक सूचना सार्वजनिक गर्दै कुहिने फोहर संकलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ ।

महानगरपालिकाले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरबासीलाई सचेत र जानकारी गराएको थियो । पटकपटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५०० जरिवानासमेत गर्ने जनाइएको छ ।

नकुहिने फोहोरलाई पनि पुनः प्रयोग गर्ने बानी बसाल्न र कवाडी व्यवसायीलाई बिक्री गर्न मिल्ने भए त्यहाँबाट पनि आय आर्जन गर्ने बानी बसाल्न भनेको छ । प्लाष्टिकलाई न्यून प्रयोग गरी त्यसको सट्टामा कपडा वा कागजको झोला प्रयोग गर्न पनि महानगरले अनुरोध गरेको छ ।