आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

गोकर्णेश्वरका कर्मचारीलाई साउन मसान्त भित्र कर बुझाउन अनुरोध

गोकर्णेश्वर खबर३२ असार २०७९, शनिबार २३:०४ मा प्रकाशित (१ साल अघि) ४०९ पाठक संख्या

३२ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले कर्मचारीहरुलाई नगरपालिकामा बुझाउनु पर्ने सबै कर, शुल्क बुझाउन अनुरोध गरेको छ ।

नगर कार्यपालिकाको निर्णय अनुसार नगरपालिका र यसका मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरु र उनीहरुको परिवारलाई नगरपालिकामा बुझाउनु पर्ने सबै कर, शुल्क बुझाउन अनुरोध गरेको हो ।

जारी सूचनामा आगामी साउन मसान्त सम्म नगरपालिकालाई तिर्नु/बुझाउनु पर्ने कर, दस्तुर, शुल्क नियमित रुपमा बुझाउन भनिएको छ ।

यसैगरी नगरपालिकालाई कर बुझाउनु पर्ने दायित्व नरहेको भए त्यस्तो दायित्व नरहेको भनी स्वघोषणा पत्र पेश गर्नु समेत कर्मचारीलाई अनुरोध गरिएको छ ।

यसैगरी बुझाउन बाँकी रहने कर्मचारीको सुविधा रोक्का हुने पनि सूचनामा जानकारी गराईएको छ ।

प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटाको हस्ताक्षरमा गत बिहिबार जारी गरेको सूचनामा भनिएको छ- ‘यस गोकर्णेश्वर नगरकार्यपालिकाको मिति २०७९ /०३ /०९ गते बसेको बैठकबाट यस नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालय, स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरु र निजको परिवारले समेत प्रचलित कानून बमोजिम यस नगरपालिकालाई तिर्नु/बुझाउनु पर्ने कर, दस्तुर, शुल्क नियमित रुपमा बुझाउन पर्ने र बुझाउन बाँकी रहेने कर्मचारीको सुविधा रोक्का हुने भनी जानकारी गराउने निर्णय भएकोले तपाई सम्पूर्ण कर्मचारीहरुले आफू र आफ्नो परिवारको दायित्वमा रहेको यस नगरपालिकालाई तिर्नु/बुझाउनु पर्ने व्यवसाय कर, घर जग्गा बहाल कर, सम्पत्ति कर लगायतका कर मिति २०७९ साल श्रावण मसान्तसम्म बुझाई नगरपालिकाको लेखा शाखामा प्रमाण पेश गर्नुहुन र यसरी नगरपालिकालाई कर बुझाउनु पर्ने दायित्व नरहेको भए त्यस्तो दायित्व नरहेको भनी स्वघोषणा पत्र पेश गर्नुहुन समेत अनुरोध छ । साथै तोकिएको समयमा माथि उल्लेखित कार्य नगर्ने कर्मचारीलाई नगरपालिकाबाट प्रदान गरिने सुविधा र विभिन्न वृत्ति विकासका अवसरहरु प्रदान गर्न नगरपालिका कार्यालय बाध्य नहुने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।’