आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

मनोहरा खोलाको कटानबाट सचेत रहन सार्वजनिक अपिल 

गोकर्णेश्वर खबर१६ असार २०७९, बिहीबार ०७:५३ मा प्रकाशित (१ साल अघि) ३५१ पाठक संख्या

१६ असार, काठमाडौं । मनोहरा खोलाको बहाबले दुवै तर्फको जमिन कटान गरि घर बस्ति लगायतका संरचनामा क्षति गरेको र मानवीय क्षति समेत हुन सक्ने भएकाले सचेतना अपनाउन सार्वजनिक अपिल गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुरथिमी नगरपालिकाले सार्वजनिक अपिल गर्दै सचेतना अपनाउन आग्रह गरेका हुन् ।

तीन जना नगर प्रमुखको हस्ताक्षरमा मंगलबार जारी गरिएको अपिलमा भनिएको छ- ‘वर्षायामको शुरुवातसँगै हालका दिनमा अविरल वर्षाको कारण मनोहरा खोलाको बहाव बढ्न गइ धार परिवर्तन गरी खोलाले दुवै तर्फ जमीन कटान भइरहेको छ । यस खोलाको वहावले कागेश्वरी मनोहरा नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुरथिमी नगरपालिकाको भू-भाग हुँदै दुवै तर्फ जमीन कटान भई घर, बस्ती लगायतको अन्य संरचनामा समेत क्षति पुर्याउदै आएको छ यसबाट मानवीय क्षति समेत हुनसक्ने भएकाले सचेतना अपनाउन सम्पूर्ण नगरवासीहरुमा अनुरोध गर्दछौं ।

हाल अल्पकालिन रुपमा खोलाको कटानलाई नियन्त्रण गरी धन जनको क्षति हुन नदिन खोलाको बहावलाई सामान्य अवस्थामा ल्याउन दुवै तर्फका ३ वटै नगरपालिकाका जनप्रतिनिधिहरु, प्राविधिक, स्थानीय प्रशासन लगायत ड्डसरोकारवालाबाट स्थलगत निरीक्षण गरी जोखिम देखिएको र हुनसक्ने क्षेत्रमा स्थानीय जनप्रतिनधिहरुको उपस्थितिमा धनजनको क्षति हुनबाट रोक्न अत्यावश्यक सुधार गर्नु पर्ने भएकोले उक्त कार्यमा सहयोग गर्नहुन सबै नगरवासीहरुमा हार्दिक अपिल गर्दछौं । मनोहरा खोलाको तटबन्धन सहितको दीगो व्यवस्थापनका लागि तत्काल संयुक्तरुपमा आवश्यक पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौं ।’