आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

गोकर्णेश्वर ४ का स्वतन्त्र उम्मेदवार जयराम महतलाई गठबन्धनले सघाउने

गोकर्णेश्वर खबर१६ बैशाख २०७९, शुक्रबार १९:२४ मा प्रकाशित (२ साल अघि) ११६१ पाठक संख्या

१६ वैशाख, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका ४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका जयराम महतलाई गठबन्धनले सघाउने भएको छ । महतलाई सघाउन माओवादीका वडा अध्यक्षका उम्मेदवार शिवहरी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । गोकर्णेश्वर नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका छन् ।

महतले कांग्रेसको साधारण सदस्य समेत नरहने गरी बाग्मती प्रदेश काठमाडौँ ३ (ख) को सचिव पदबाट राजीनामा दिई वडा नम्बर ४ बाट वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । गोकर्णेश्वर वडा नं. ४ मा इमानदार कांग्रेस नेताका रुपमा चिनिएका महतलाई वडा अध्यक्षको उम्मेदवारको टिकट नदिए पछि उनले  राजिनामा दिएका थिए ।

अहिले उनै जयराम महतसँग माओवादी र समाजवादीले गठबन्धन गरेका छन् । आफ्ना तर्फका वडा अध्यक्षको उम्मेदवारी फिर्ता गराई गठबन्धनले महतलाई वडा अध्यक्षमा सघाउने भएको छ । वडा सदस्यहरूमा भने माओवादी र समाजवादी गठबन्धनले उम्मेदवारी फिर्ता लिएको छैन ।

गठबन्धनको निर्णय अनुसार स्वतन्त्र उम्मेदवार जयराम महतलाइ माओवादी र समजवादीले सघाउने र स्वतन्त्र उम्मेदवार महत पक्षले माओवादी र समाजवादीका वडा सदस्यहरूलाई सघाउने छन् ।

स्वतन्त्र उम्मेदवार महत २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काङ्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।