आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

देउवा निकट युवा नेता विमल ठकुरीले गोकर्णेश्वरमा मेयरको टिकट पाउने !

गोकर्णेश्वर खबर२३ चैत्र २०७८, बुधबार १८:२८ मा प्रकाशित (२ साल अघि) ३६८३ पाठक संख्या

२३ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै गोकर्णेश्वर नगरपालिकामा मेयरको उम्मेदवारको चर्चा चुलिएको छ ।
गत स्थानीय चुनावमा मेयर उपमेयर सहित ६ वडा जितेको कांग्रेस बलियो भएको नगरपालिका मानिने गोकर्णेश्वर नगरपालिकामा कांग्रेसबाट कस्ले मेयरको टिकट ल्याउला भन्ने चर्चा चुलिएको छ ।

अहिले नेपाली कांग्रेसको केन्द्र प्रदेश देखि स्थानीय स्तरसम्मको अवस्था केलाउँदा युवा नेता विमल ठकुरीले कांग्रेसबाट मेयरको टिकट पाउने उनी निकट स्रोतले दावी गरेको छ । मेयरको टिकट पाउनेमा विमल ठकुरी स्वयं विश्वस्त रहेको आफ्ना निकटकाहरुलाई बताईसकेका छन् । निकट स्रोतका अनुसार अहिले सबै हिसावले विमल ठकुरी गोकर्णेश्वर नगरपालिकामा मेयरका उम्मेदवारका अन्य दावेदार भन्दा बलियो देखिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेका ठकुरीलाई १४ औं महाधिवेशनमा आम नेता कार्यकर्ताले देखाएको विश्वास हेर्दा पनि उनले काठमाडौं क्षेत्र नं. ३ मा प्रभावशाली युवा नेताको रुपमा आफूलाई उभ्याएका देखिन्छन् । त्यसैले यस पटक पार्टीले ठकुरीलाई नै मेयरको टिकट दिने उनी निकट स्रोतले दावी गरेको छ ।

यस अघि प्रदेश सभाको चुनावमा नेकपा एमालेका रामेश्वर फुयालसंग झिनो मतले मात्र पराजित भएका ठकुरीले राजनीतिक क्रियाशिलता र पकड दुबै बलियो बनाईसकेका छन् ।

पारिवारिक रुपमा प्राप्त राजनीतिक विरासत, कोरोनाको समयमा गरेका राहतका कार्यमा देखाएको तदारुकता, काठमाडौं क्षेत्र नं. ३ का वासिन्दाहरुका लागि स्वास्थ्य उपचारमा गरेको सहयोग, राजनीतिमा सबैलाई मिलाएर लैजाने उनको कला र युवा परिचालन गर्ने क्षमताका आधारमा विमल ठकुरीको पक्षमा माहौल बनिरहेको देखिएको युवा व्यवसायि निरञ्जन आचार्यले बताए ।

आचार्य भन्छन् – ‘अहिले देशै भरि युवा नेतृत्वको चाहना बढेको र विगतमा ठकुरीले गरेका कामले पनि जनस्तरमा ठकुरीको पक्षमा माहौल बनेको छ । नि:स्वार्थ राजनीति गर्ने, दु:खमा परेका जनताको लागि अहोरात्र खटिएर सेवा गर्ने, पावर र पैसाको घमण्ड नगर्ने भएकोले कांग्रेसबाट विमल ठकुरीले टिकट पाउनु पर्ने आम नगरवासीको चाहना हो ।’