आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

पेमा छिरि शेर्पा गोकर्णेश्वर नगरपालिकाको मेयरका बलिया दावेदार

गोकर्णेश्वर खबर२३ चैत्र २०७८, बुधबार १२:५३ मा प्रकाशित (२ साल अघि) १३३६ पाठक संख्या

२२ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै गोकर्णेश्वर नगरपालिकामा मेयरको उम्मेदवारको चर्चा चुलिएको छ । विभिन्न पार्टीहरुबाट जस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट पनि गोकर्णेश्वरको मेयरका लागि विभिन्न आकांक्षीहरु देखिएका छन् ।

माओवादी केन्द्रका तर्फबाट बागमती प्रदेश सदस्य तथा काठमाडौं निर्वाचन क्षेत्र नं ३ का संयोजक तेजराज नेपाल (टि.आर नेपाल), नेकपा माओवादी केन्द्रका वागमति प्रदेश परिषद सदस्य तथा गोकर्णेश्वर नगर इन्चार्ज पेमाछिरी शेर्पा, नेकपा माओवादी केन्द्रका गोकर्णेश्वर नगर अध्यक्ष मानबहादुर तामाङ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सहकारी विभागका सदस्य तथा गोकर्णेश्वर नगरपालिका उपाध्यक्ष समेत रहेका हुच्छे नारायण श्रेष्ठ (मिलन) लगायतको नाम मेयरका उम्मेदवारका रुपमा चर्चामा रहेको छ ।

नेपाली कांग्रेसले बलियो पकड भएको नगरपालिका मान्ने र नेकपा (एमाले) ले यस पटक आफूले जित्ने दावी गरिरहेको गोकर्णेश्वरमा आसन्न स्थानीय निर्वाचनमा कांग्रेस र एमालेसँग टक्कर लिन सक्ने माओवादी केन्द्रका नेताका रुपमा पेमा छिरि शेर्पालाई लिन थालिएको छ । माओवादी केन्द्रभित्र स्थानीय स्तरमा राजनीतिक भूमिका र दायित्व लिएका नेताको कमी नभए पनि शेर्पाले स्वच्छ छविको इमानदार नेताको पहिचान बनाएका छन् । शेर्पा जनताको सुखदुखमा साथ दिने, नगरपालिकाको विकासको लागि प्रष्ट भिजन भएका, जनसवालमा खरो बोल्न सक्ने नेताको रुपमा चिनिन्छन् ।

समाजसेवा, राजनीति, शैक्षिक क्षेत्र र आदिवासी जनजाति आन्दोलनमा उनको योगदानलाई चिन्नेहरु शेर्पालाई माओवादी केन्द्रबाट गोकर्णेश्वर नगरपालिकामा निर्विकल्प मेयरको उम्मेदवारका रुपमा स्विकार्छन् । शेर्पालाई उनको उच्च सामाजिक, राजनीतिक, शैक्षिक योगदानले तथा स्वच्छ र इमानदार नेताको छविले धेरै बलियो उम्मेदवार बनाएको छ । त्यसैले गोकर्णेश्वरमा माओवादी केन्द्रका तर्फबाट शेर्पा नै मेयरको बलियो उम्मेदवार भएको जानकारहरु बताउँछन् ।

पेमा छिरि शेर्पा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका पूर्व अध्यक्ष, शेर्पा मुक्ति मोर्चाका पूर्व अध्यक्ष, ३० देशमा शाखा रहेको नेपाल शेर्पा संघका पूर्व केन्द्रीय अध्यक्ष समेत हुन् । भेनस नेशनल कलेजका अध्यक्ष शेर्पा भेनस पब्लिक स्कुलको फाउण्डर चेयरमेन हुन् ।

विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भई समाजसेवाका क्षेत्रमा उल्लेख्य काम गरेका शेर्पा विपुल शिक्षा निकेतनका समेत अध्यक्ष हुन् । उनी नेपाल लिडर्स बहुउदेश्यीय सहकारी संस्था लिमिटेड तथा मार्टका अध्यक्ष हुन् । उनी ५० भन्दा धेरै देशमा घुमेका छन् । त्यहाँ देखेको विकासको अनुभव गोकर्णेश्वरको विकासमा सहयोगी हुने शेर्पा बताउँछन् । पार्टीले मेयरको उम्मेदवारमा अगाडी बढाए आफू तयार रहेको उनले बताए । गोकर्णेश्वरको विकास र नगरवासीको हितमा काम गर्दै आएकोले आफूले गोकर्णेश्वरलाई देशकै उत्कृष्ठ नगरपालिका बनाउने सोचका साथ अहोरात्र खटिरहेकोले पार्टीले दिने जुनसुकै जिम्बेवारी र भूमिकालाई सहर्ष स्विकार गर्ने शेर्पाले बताए ।

देश विकासको लागि परिवर्तन ल्याउने पार्टी माओवादी भएकोले आधुनिक र विकसित नेपाल बनाउने जिम्बेवारी पनि माओवादी भएको उनको विश्वास छ । जसको नीति उसकै नेतृत्व भए मात्र विकासले सार्थकता पाउने भएकोले स्थानीय क्षेत्रको विकासका लागि स्थानीय निकायमा पनि माओवादीकै नेतृत्व हुनु पर्ने उनले बताए ।

शेर्पाले गोकर्णेश्वर नगरपालिकामा सबै वर्ग क्षेत्रलाई समेटेर समुचित विकास गर्नका लागि माओवादीको जित आवश्यक देखिएको बताउँदै पार्टीले दिने जिम्बेवारी स्विकार गरेर गोकर्णेश्वर नगरपालिकाको विकास र नगरवासीको हितमा काम गर्न प्रतिबद्ध रहेको बताए ।