आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

आचार संहितामा नयाँ व्यवस्था, आवागमनमा अवरोध हुने गरी सभा जुलुस गर्न नपाइने

गोकर्णेश्वर खबर४ चैत्र २०७८, शुक्रबार ०८:३६ मा प्रकाशित (२ साल अघि) ४१९ पाठक संख्या

४ चैत, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचार संहिता २०७८ मा दल र उम्मेदवारका लागि छुट्टै व्यवस्था गरेको छ ।

सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै सभा जुलुस गर्न नपाइने भएको छ । त्यस्तै जुलुस, आमसभा, कोणसभा, बैठक तथा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने छ । कसैको घरको आसपासमा गइ निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नपाइने प्रावधान निर्वाचन आचार संहिता २०७८ मा छ ।

राजनीतिक दलले जुलुस कोणसभा गर्दा स्थानीय तहको प्रशासनको अनिवार्य रुपमा अनुमति लिनुपर्ने प्रावधान छ । त्यस्तै त्यस्ता कार्यक्रम गर्दा स्थान र समयबारे स्थानीय प्रहरीलाई ७२ घण्टा अगावै जानकारी दल र उम्मेदारले गराउनु पर्नेछ ।

जुलुस वा आससभा भाग लिने वा प्रचार–प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह झण्डा अंकित लोगो वा स्टिकर वा कपडा वा क्याप, भेस्ट टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नपाउने भएका छन् ।

त्यस्तै घर वा जग्गा धनीको अनुमति नलिइ कसैको निजी घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न नपाइने भएको छ। दलले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला र प्रचार–प्रसार साँझ ७ बजेसम्म मात्रै गर्न पाउने भएका छन् ।

अनलाइन वेब पेज, टिभ पेज, टिभी स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम काउन्टर, सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचार गर्न वा गराउन नहुने, भित्ते लेखन गर्न नपाउने र प्रचार गर्न नपाइने भएको छ ।