आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

म्यादी प्रहरी भर्नाका लागि बजेट स्वीकृत 

गोकर्णेश्वर खबर१ चैत्र २०७८, मंगलवार ०७:४७ मा प्रकाशित (२ साल अघि) ४५६ पाठक संख्या

१ चैत, काठमाडौं । स्थानीय तह निर्वाचन गराउन म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत दिएको छ । प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले चार अर्ब ३९ करोड बजेट अर्थ मन्त्रालयले स्वीकृत गरेको जानकारी दिए ।

मन्त्रालयले एक लाख म्यादी प्रहरीका लागि बजेट निकास गरेको हो । यद्यपी, प्रहरी प्रधान कार्यालयले एक लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता केसीका अनुसार ४० दिनका लागि म्यादी प्रहरीलाई भर्ना लिइने भएको छ । अब एक साताभित्र दरआस्त आह्वान गर्नेगरी तयारी भएको समेत उनले बताए ।

म्यादी प्रहरीले ४० दिन काम गरेपछि ३० हजार २८० रुपियाँ र रासन बापत सात हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । साथै छ हजार बराबरको लत्ता कपडा, एक हजार गाडी भाडा पाउनेछन् । म्यादी प्रहरीले तलब, भत्ता र रासन जोडेर करिब साढे ४४ हजार पाउँछन् । म्यादी प्रहरी वैशाख ३० मा चुनाव भएपछि थप एक साता सेवामा रहन्छन् ।

म्यादी प्रहरी भर्नाको आह्वानका लागि गोरखापत्र दैनिक र नेपाल प्रहरीको वेबसाइटमा सूचना प्रकाशित गरिने प्रवक्ता केसीले जानकारी दिए ।
भर्नाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पूर्व प्रहरी, नेनाबाट निवृत्त भएका वा जागिर छोडेका मानिसहरुलाई प्राथमिकतामा रहेका छन् । स्थानीय तह निर्वाचन आगामी वर्षको वैशाख ३० गते हुँदै छ ।