आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

बिपी कोइरालाको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र आज प्रदर्शन हुने

गोकर्णेश्वर खबर३० फाल्गुन २०७८, सोमबार ०८:४५ मा प्रकाशित (२ साल अघि) ४९४ पाठक संख्या

३० फागुन, काठमाडौं । सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डट कमको सहकार्यमा निर्माण गरिएको प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र आज प्रदर्शन हुने भएको छ ।

वृत्तचित्रमा विसं २०३१ देखि २०३६ सम्मका घटना समेटिएको छ । करिब छ वर्ष लगाएर वृत्तचित्र तयार गरिएको हो । वृत्तचित्रमा बिपी, गणेशमानलगायत नेतामाथिको राजद्रोहको मुद्दाको फैसला गर्ने न्यायाधीश जनकमान श्रेष्ठ, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, बिपीको चिकित्सकका रुपमा काम गर्नुभएका डा मृगेन्द्रराज पाण्डे, पूर्वअञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतको स्वर सङ्कलन गरिएकाले जीवन्त छ ।

विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्कँदा साथमै रहनुभएका नेताहरु खुमबहादुर र नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाइँलगायतको भनाइ पनि वृत्तचित्रमा समेटिएको छ । हाल उहाँहरुको निधन भइसके पनि यसअघि नै भनाई लिइएको थियो ।

नेपाली कांग्रेसको संस्थापकसमेत रहनुभएका बिपी आफूमाथिका आठवटा राजद्रोहसम्बन्धी मुद्दाकोसमेत प्रवाह नगरी २०३३ साल पुस १६ गते किन स्वदेश फर्कनुभयो र कसरी जनमत सङ्ग्रहको घोषणा भयो भन्ने विषयलाई वृत्तचित्रमा सूक्ष्मरुपमा देखाइएको छ । नेपाल प्रवेश गर्ने बित्तिकै राजद्रोहको मुद्दाका कारण मृत्युदण्डसमेत हुनसक्ने र भारत प्रवासमा बसिरहँदा राष्ट्रियता सङ्कटमा पर्ने त्रासकाबीच बिपीले गर्नुभएको ऐतिहासिक राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको विषयलाई वृत्तचित्रमा देखाइएको छ ।